STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतले जित्यो साफ च्याम्पियनसिप उपाधि, नेपाल उपविजेतामै सीमित

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ३१, आइतबार

१३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । नेपालविरुद्ध ३-० को जित हात पार्दै भारतले उपाधि कब्जा गरेपछि नेपाल उपविजेतामै सीमित हुनपुगेकाे छ ।

भारतको यो आठौं साफ च्याम्पियनसिप उपाधि हो । 

दोस्रो हाफको सुरुआतमा दुई गोल खाएर सम्हालिन नसकेको नेपालले खेल सकिनै लाग्दा तेस्रो गोल खाएको हो ।भारतका सुनिल क्षेत्रीले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन्  । दोस्रो गोल भने ४९ औं मिनेटमा सुरेश सिंहले गरे । यस्तै ८९ औं मिनेटमा साहल समादल गोल गरे ।

गोल अन्तर धेरै भए पनि नेपालले पहिलो हाफमा भने गोल गर्ने केही राम्रो अवसर बनाएको थियो । विशेषगरी भारतीय डि-बक्स क्षेत्रमा पाएको राम्रो अवसरलाई नेपालले गोलमा परिणत गर्न सकेन । सुमन लामाले निकालेको पासलाई नवयुग श्रेष्ठले उपयोग गर्नु अघि नै भारतीय गोल किपरले बचाए । यस्तै अन्य केही अवसर पनि गोल हुन नसक्दा नेपालले खेलमा भारतलाई गोलको दबाब दिन सकेन । 

यस्ता केही अवसर बनाएपनि पानी परेपछि भने मैदान चिप्लो हुँदा नेपालले खेलमा लय गुमायो । नेपाल मात्रै होइन भारतका खेलाडीसमेत गलत पास गर्न थाले । 

नेपालले आजको खेलमा स्टार खेलाडी अञ्जन बिष्टको अभाव महसुस गर्‍यो । नेपालको खेलमा फ्रन्टलाइनमा देखिने उनले दुई पहेंलो कार्डका कारण आजको खेल गुमाएका हुन् । यस्तै साफले आफ्नै नियम विपरीत प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई आजको खेलमा प्रतिबन्ध लगाएकाले समेत नेपालले खेलमा फर्किन सकेन । 

यो नेपालको प्रशिक्षकको हैसियतमा अल्मुताइरीको अन्तिम खेल हो । तर अन्तिम खेल उनी डगआउटमा नभइ दर्शकदीर्घा बसेर हेर्न बाध्य भए । 

नेपालले २८ वर्षपछि साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो । यो क्रममा नेपालले उत्कृष्ट फुटबल खेल्यो । खेलहरूमा गोल गर्नेदेखि पछि परेको खेलमा अन्त्यमा गोल गरेर खेलमा फर्किने सम्मका गतिविधि भए । तर चिरप्रतिद्वन्द्वी भारतलाई हराउने सूत्र पाउन नसक्दा नेपाल इतिहास बनाउनबाट चुक्यो ।

Categorized in खेलकुद