STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतमा बर्ड फ्लु, सीमा क्षेत्रमा कडाइ

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २२, बुधबार

काठमाडौं – भारतका विभिन्न राज्यमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएसँगै सरकारले नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरेको छ । भारतबाट आउने मासुजन्य सबै वस्तुलाई नेपाल प्रवेश गर्न निषेध गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

बर्ड फ्लु देखिएका भारतका विभिन्न राज्यबाट स्वस्थ पशुपंक्षीसमेत ल्याउन रोक लगाईएको मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरेले जानकारी दिए ।

अनुसन्धानका लागि ल्याइने पशुपंक्षीहरु भने सम्बन्धित निकायको प्रमाणिकरण हेरेर मात्रै नेपाल भित्रन दिईने उनको भनाइ छ । यस्तै भारतमा देखिएको बर्ड फ्लु नेपाल प्रवेश गर्न नदिन सरकारी अधिकारीहरु छलफलमा जुटेका छन् ।

नेपालमा संक्रमण भित्रन नदिन के गर्ने भन्नेबारे छलफल सुरु भएको र आवश्यक निर्णय लिईने मन्त्रालयका प्रवक्ता घिमिरेले जानकारी दिए । नेपालमा बर्डफ्लु भित्रन नदिनेबारे केही बेरमा पशु सेवा विभागले पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारीसमेत गरेको छ ।

भारतका मध्य प्रदेश, केरला, हरियाणा, राजस्थान, हिमाञ्चल प्रदेश र झारखण्डमा बर्ड फ्लुका कारण कुखुरा तथा पुशपंक्षी मरेको पुष्टि भएसँगै उच्च सतर्कता अपनाउन लागिएको हो ।

बर्ड फ्लु देखिएको भारतका विभिन्न राज्यहरुमा कुखुरा, हाँस र माछा पसल खोल्नमा प्रतिबन्ध लगाईएको छ । भारतको हिमाञ्चल प्रदेशको पोङ् ड्येम क्षेत्रमा मात्रै २४ सय भन्दा धेरै पंक्षी बर्ड फ्लुका कारण मरेको हिमाञ्चल प्रदेशका बर्ड फ्लु विशेषज्ञ डाक्टर विक्रम सिंहले बताएका छन् ।

Categorized in राष्ट्रिय