STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतको महाराष्ट्रमा रात्रिकालीन कर्फ्यू

Janjati Khabar – एजेन्सी | २०७७ चैत्र १५, आइतबार

भारतको महाराष्ट्र राज्यमा आइतबारदेखि रात्रिकालीन कर्फ्यू जारी लगाइएको छ।

कोरोनाभाइरसको संक्रमण बढेपछि महाराष्ट्र सरकारले राति ८ देखि बिहान ७ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। रात्रिकालीन कर्फ्यू अप्रिल १५ सम्म रहनेछ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव थाक्रेले शुक्रबार आइतबारदेखि रात्रिकालीन कर्फ्यू जारी गर्ने घोषणा गरेका हुन्।

महाराष्ट्र सरकारले बगैंचा, समुद्री किनारालगायत सार्वजनिक स्थलमा पाँच जनाभन्दा बढी भेला नहुन पनि भनेको छ। त्यसको उल्लंघन गरे एक हजार भारूसम्म जरिवाना तिराइने छ।

सिनेमा हल, मल, अडिटोरियम र रेष्टुरेन्टहरू पनि बन्द रहनेछन्। कर्फ्यूको समयमा होम डेलिभरी र टेक अवे भने सुचारू रहनेछन्।

भारतमा सन् २०२१ मा पहिलो पटक एकैदिन कोरोनाभाइरसको संक्रमण भएका ३ सय १२ जनाको मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार गत वर्षको डिसेम्बर २४ यता पहिलो पटक यो भाइरसको संक्रमणबाट एकैदिनमा यति धेरै मानिसहरूको ज्यान गएको हो।

भारतमा पछिल्लो समय कोरोनाभाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको छ। शनिबारमात्रै त्यहाँ ६२ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितको यो संख्या पछिल्ला १६३ दिनमा सबैभन्दा धेरै हो। अहिले भारतभरि सक्रिय संक्रमितको संख्या ४ लाख ८५ हजार छ। आइतबारपछि यो संख्याले ५ लाखको सीमा पार गर्नेछ।

भारतका महाराष्ट्र, छत्तीसगढ, गुजरात, हरियाणा, कर्नाटका, दिल्लीलगायत १५ राज्यमा कोरोना संक्रमित बढिरहेका छन्।

पछिल्लो समय भारतमा कोरोनाविरूद्धको भ्याक्सिन लगाउने क्रम तीव्र रूपले चलिरहेको भए पनि विभिन्न भेरियन्टको कोरोना भाइरस फैलिरहेको छ।

भारतमा अहिलेसम्म १ करोड १९ लाख मानिस कोरोना संक्रमित भएका छन् भने १ लाख ६१ हजार जनाको मृत्यु भएको छ।

Categorized in अन्तर्राष्ट्रिय