STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बौद्धमा तेमाल जात्रा 

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार

चैत्र शुक्लचतुर्दशीका दिन बौद्ध क्षेत्रमा लाग्ने तेमाल जात्राको तयारी पूरा भएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ ।
 
तामाङ समुदायले प्रत्येक वर्ष चैत्र शुक्लचतुर्दशीका दिन बेलुकी दिवङ्गत आत्माको शान्तिको कामना गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन् । लामा गुरुहरुद्वारा विशेष पूजापाठ ९ङोवा मोन्लम० समेत गरी मनाउने गरिन्छ । 
 
प्राचीनकालमा तेमाल क्षेत्रका तामाङ समुदाय आएर मनाउने भएकाले तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभरका मानिस आउने गर्छन् । मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौँ उपत्यकाका तामाङ समुदायको जात्रामा भीड लाग्ने गर्छ । 
 
चैत्र शुक्ल चतुर्दशीको बेलुकी दिवङ्गत पितृका नाममा बत्ती बालेका दर्शनार्थीले पूर्णिमाका दिन बिहान बालाजु बाइसधारामा स्नान गर्छन् । स्नानपछि स्वयम्भू चैत्यमा पुगी पूजापाठ गरेपछि जात्रा समाप्त हुने बौद्धनाथ क्षेत्र विकास समितिका सदस्य मजेन्द्र सिंहले जानकारी दिनुभयो । 
  तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पहिचानको रुपमा रहेका तेमाल जात्राको हुलाक टिकट प्रकाशन गरिनुका साथै नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिने पात्रोमा उल्लेख गरेर राष्ट्रिय मान्यता दिइएको छ । 
बौद्ध किम्बदन्ती अनुसार सत्ययुगमा विपश्वी बुद्धले नागार्जुन डाँडामा साधना गरी काठमाडौँ उपत्यकामा बनेको दहमा कमलको बीज रोप्नुभयो ।
विपश्वी बुद्धले रोप्नुभएका कमलको फूलमै स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको बौद्ध दर्शन शास्त्रीय मत छ । 
विपश्वी बुद्धले कमलको फूल रोप्नुभएको सम्झनामा त्यसैबेलादेखि जात्रा शुरु भएको जात्रा व्यवस्थापन समितिको संयोजक समेत रहनुभएका बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले राससलाई जानकारी दिनुभयो । त्यसबेला जात्राको नाम तेमाल नामकरण भएको थिएन । 
 
विसं १८१९ मा तेमालका अन्तिम राजा रिञ्जीन दोर्जे बलले राजकीय मान्यता दिएपछि तेमाल नामकरण भएको भनाइ छ । राजा रिञ्जीन दोर्जे बलले जात्रा सम्पन्न गराउन तेमालबाट प्रजालाई पठाउने गर्नुभएको थियो । अर्को किम्बदन्ती अनुसार राजा रिञ्जी दोर्जे बलले बौद्धको जीर्णोद्वार सकेपछि तेमाल जात्रा मनाउने परम्परा बसालेको भनाइ छ । 
 
चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा दियो बालेमा दिवङ्गत पितृ षड्गतिमा नपर्ने धार्मिक विश्वास छ । अर्को जन्ममा सुखवती भुवनमा जन्म लिन्छन् भन्ने विश्वासले लाखौँ भक्तजन बौद्ध क्षेत्रमा आउने गर्छन् । 
 
जात्रा सम्पन्न गर्न बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा यस क्षेत्रका सबै सङ्घ संस्था र जनप्रतिनिधिको सहभागितामा बौद्ध तेमाल जात्रा मूल व्यवस्थापन समिति गठन गरिएको छ । यो वर्ष वैशाख ५ गते बेलुकी बत्ती बाल्ने र ६ गते बिहान बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूमा विशेष पूजापाठ गरिने जनाइएको छ । 
 
यसवर्ष जात्राको तयारीस्वरुप बौद्ध चैत्यमा रङरोगन पनि गरिएको छ । रङरोगनले बौद्ध क्षेत्रको आकर्षण बढेको छ । सन् १९७९ मा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० ले विश्व सम्पदा सूचीमा सूचीकृत गरेपछि यहाँ विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ । 
 
यस क्षेत्रको सडकको दूरावस्था, सडकपेटीमा व्यापारलगायत अव्यवस्थाले यहाँको पर्यटन प्रवद्र्धनमा गम्भीर असर पुगेको स्थानीय पार्वती तामाङको गुनासो छ । विश्वभर फैलिएका बौद्ध धर्मालम्बी आउने यस क्षेत्रमा व्यवस्थित रुपमा पूर्वाधार निर्माण गरी आकर्षक बनाए धार्मिक पर्यटन प्रवद्र्धन हुने स्थानीयवासीको भनाइ छ ।
Categorized in राष्ट्रिय