कुन मन्त्रीको सम्पत्ति कति ?
Janjati Khabar – Janjati Khabar | २०८१ जेठ १०, बिहिबार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार -
सञ्चारमन्त्री रेखा शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको २० लाख रुपैयाँ सहकारीमा रहेको छ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीहरूको सम्पत्ति विवरण मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखेको छ ।
उक्त विवरणअनुसार सञ्चारमन्त्री शर्मासँग एक लाख ७८ हजार रुपैयाँ दुई बैंकमा बचत रहेको छ । कीर्तिपुरमा उनको २.५ तलाको घर रहेको उल्लेख छ । प्युठानमा रहेको पैतृक घर बिक्री गरी अर्काे घर निर्माणमा लगानी गरेको उल्लेख छ । पैतृक तथा उपहारबापतको ६ तोला सुन र दुई तोला चाँदी पनि उनीसँग रहेको छ ।
उनको परिवारका सदस्यसहितको नाममा एक हजार ५०० कित्ता आईपीओसहितको सेयर रहेको पनि उल्लेख छ । उनीसँग ३६ लाख रुपैयाँको कार र बैंकबाट ६५ लाख रुपैयाँ ऋण लिएको विवरणमा उल्लेख छ ।
श्रममन्त्री डोलप्रसाद अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफूसँग सहकारीमा १ करोड ५० लाख नगद जम्मा रहेको सम्पत्ति विवरणमा सार्वजनिक गरेका छन्। मंगलबार सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार, जनसागर सहकारीमा १ करोड ५० लाख नगद जम्मा भएको उल्लेख गरेका हुन्।
उनले व्यापारबाट सो रकम आर्जेको विवरणमा बुझाएका छन्। यस्तै प्राइम बैंकमा १३, राष्ट्रिय वाणिज्य बैंकमा ४ र मेगा बैंक बैंकमा एक लाख नगद मौज्जाद रहेको विवरण बुझाएका छन्।
अर्यालले श्रीमती अम्बिका केसीको नाममा ग्लोबल आइएमइ बैंकमा ५० लाख र हिमालयन बैंकमा २० लाख नगद मौज्जाद रहेको विवरण पेश गरेका छन्।
अर्यालले धादिङका विभिन्न स्थानमा ८ आना, भक्तपुरमा ८ आना र लमजुङमा १० रोपनी २८ आना जग्गा रहेको उल्लेख गरेका छन्।
यसैगरी भक्तपुरमा ८ आना जग्गा उनकै नाममा छ। यस्तै, श्रीमती अम्बिकाको नाममा काठमाडौंका विभिन्न स्थानमा २२ आना जग्गा रहेको उल्लेख गरेका छन्।
१ करोड २५ लाखको प्राडो कार, श्रीमतिसँग ४३ लाखको टाटा नेक्सन ईभी रहेको पनि उनले बताएका छन्।
अर्थमन्त्री वर्षमान पुन
अर्थमन्त्री वर्षमान पुनको नाममा रोल्पामा पैतृक सम्पत्ति ८२० वर्ग मिटर क्षेत्रफल जग्गा रहेको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार एनएमबी बैंकमा ३३ लाख ७० हजार ६१८ रुपैयाँ नगद रहेको छ ।
त्यो पनि तलब भत्ता र भ्रमण भत्ता जोडेर विवरणमा देखाइएको छ । हलुका सवारी साधन भने पार्टीले दिएको उल्लेख छ ।
त्योबाहेक उनले आफ्नो नाममा केही पनि नभएको उल्लेख गरेका छन् । श्रीमती ओनसरी घर्ती मगरको नाम भने उनले उल्लेख गरेका छैननन् ।
शिक्षामन्त्री सुमना श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ रहेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । उनले मन्त्रिपरिषद्मा बुझाएको सम्पत्ति विवरणानुसार, उक्त रकम विभिन्न बैंकमा मौज्दात छ ।
एनआईसी एसिया बैंकमा ११५ लाख (एक करोड १५ लाख) र एभरेस्ट बैंकमा ३७ लाख आफ्नो नगद मौज्दात रहेको उनले उल्लेख गरेकी छन् । यी सबै रकम पारिश्रमिकबापत पाएको विवरणमा उल्लेख छ ।
यस्तै, उनीसँग ११ तोला सुन, १० तोला चाँदी, एक सेट हीराको हार र एक सेट हीराको टप रहेको विवरणमा उल्लेख छ ।
गृहमन्त्री रवि लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ ।
मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार बाँकी अधिकांश सम्पत्ति उनको श्रीमती निकिता पौडेल लामिछानेको नाममा रहेको उल्लेख छ ।
विवरणअनुसार लामिछानेको ग्लोबल आइएमई बैंकमा पाँच हजार र नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजार चल नगद रहेको उल्लेख छ ।
यस्तै, उनीसँग ८० तोला सुन रहेको र अधिंकाश बुवा, आमा तथा केही श्रीमती पौडेलले खरिद गरेको उल्लेख छ ।
Categorized in राजनीति

