STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिकास बोर्डले ‘‘सिनेमा साइबर सेक्युरिटी” डेस्क सन्चालन गर्ने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र १४, मंगलबार

नेपालको चलचित्र क्षेत्र सम्बन्धि सम्पुर्ण नीतिगत कार्य हेर्ने  चलचित्र विकास बोर्डले अब हटलाइन नम्बर सहितको ‘‘सिनेमा साइबर सेक्युरिटी डेस्क ” को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार बोर्डको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त डेस्कको लागि सिस्टम विकासको काम सुरु भएको जानकारी दिँदै साइबर सुरक्षासँगै बोर्डलाई डिजिटल प्रविधिमा लैजाने सम्मका योजनाहरु ‘डेमोस्ट्रेसन’ समेत गरिएको छ ।

बोर्डका कार्यकारी अध्यक्ष भुवन के सी को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठ, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदिप शर्मा पौडेल, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रल्हाद प्रसाद पुडासैनी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक रबिन्द्र रेग्मी, प्रहरी प्रधान कार्यालयका प्रहरी बरिष्ठ नायब उपरिक्षक रुपक खड्का, प्रहरी निरिक्षक खेमराज खनाल, प्रहरी बरिष्ठ नायब निरिक्षक सन्तोष लामा, प्रहरी नायब निरिक्षक कोपिला केसी, बोर्डका सदस्य केएल बुढाथोकी, चलचित्र सम्बन्धित संघसंस्थाका अध्यक्षहरु  विशेषगरी निर्माता संघका अध्यक्ष नवल खड्का, निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, कलाकार संघका अध्यक्ष मोहन निरौला,प्राविधिक संघका अध्यक्ष पुष्कर लामा , चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामि तथा अन्य पदाधिकारीहरु, चलचित्रकर्मीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रोबोटिक्स एकेडेमी अफ नेपालका फाउण्डर बिक्रान्त कार्की र आईडिया ब्रिड आईटी सोलुशनका निबेश किरण अधिकारीले संयुक्त रुपमा सिनेमा साइबर सेक्युरिटी डेस्कबारे डेमोस्ट्रेसन देखाउनु भएको थियो । यि दुई आईटी कम्पनीले उक्त डेस्कको लागि सिस्टम विकासको काम गर्नेछन् ।

नेपाली चलचित्र उद्योगले सामना गरिरहेको साइबर हमलाबाट कसरी छुटकारा पाउने बिषय र बोर्डले चाल्न लागेको कदमबारे छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले बताउनु भयो । उहाँले प्रविधिको विकासले अाम जीवनशैलीमा महत्त्वपूर्ण परिवर्तनहरू ल्याएको र त्यसको सकारात्मक र नकारात्मक दुवै पक्षहरु रहेको कुरा उल्लेख गर्दै टिकटक, युट्युब र फेसबुक जस्ता सामाजिक सञ्जालका माध्यमबाट नेपाली फिल्म निर्माताहरूलाई आफ्नो काम प्रदर्शन गर्न र फराकिलो दर्शकसम्म पुग्न सजिलो भएको छ तर यसले नै साइबर सुरक्षाको बिषयमा नयाँ चुनौतीहरू पनि सिर्जना गरेको छ भनि भन्नु भयो । 

उहाँले नेपाली चलचित्रहरू अनलाइन लिक वा पाइरेटेड भएका प्रशस्तै उदाहरणहरू देखिएकाले यस उद्योगलाई ठूलो नोक्सान पुर्‍याएको र कलाकारहरूको गोपनीयता र सुरक्षामा पनि साइबर हमलाहरू हुने गरेका छन् भनि  भन्नुभयो । यी चुनौतिहरुलाई सम्बोधन गर्न चलचित्र विकास बोर्डले ‘चलचित्र साइबर सेक्युरिटी’ सम्बन्धी डेडिकेटेड डेस्क स्थापना गर्न नीति लिँदै सक्रिय कदम चाल्ने निर्णय गरेको कुरा उहाँले बताउनु भयो । साथै, उहाँले यो पहलले नेपाली राष्ट्रिय चलचित्र उद्योगको हितको रक्षा मात्र नभई नेपालको डिजिटल अर्थतन्त्रको समग्र विकासमा पनि योगदान पुर्‍याउने विश्वास लिएको र चलचित्र निर्माताहरूको बौद्धिक सम्पतीको संरक्षण गर्दै थप रचनात्मकता र नवीनतालाई प्रोत्साहन गर्नतर्फ चलचित्र विकास बोर्ड सदैव दृढ रहेको बताउनुभयो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेलले बोर्डले चालेको कदम अत्यन्त महत्वपूर्ण रहेको बताउँदै प्रविधि केन्द्रले आवश्यकता अनुसार सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै, सूचना प्रविधि विभागका महानिर्देशक श्रेष्ठले पनि साइबर सेक्युरिटी डेस्कलाई आवश्यक सहयोगको लागि नेपाल सरकार तत्पर रहेको बताउनुभयो । रजिष्ट्रार पुडासैनीले साइबर सेक्युरिटी र बौद्धिक सम्पतीको संरक्षण परस्पर रहेको बताउँदै सहकार्य गर्ने उल्लेख गर्नुभयो ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले तुरुन्तै लागु हुने गरि साइबर सेक्युरिटी डेस्कलाई अघि बढाउन जोड दिनुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक रेग्मीले नेपाल प्रहरीले साइबर सेक्युरिटीको लागि डेडिकेटेड ब्यूरो ‘साइबर ब्यूरो’ नै सञ्चालन गरेको जनाउँदै चलचित्र र चलचित्रकर्मीहरुका हरेक समस्या समाधान गर्न नेपाल प्रहरी २४ घण्टा नै तयार रहेको बताउनुभयो । साथै, उहाँले बोर्डले सञ्चालन गर्न लागेको डेस्कको लागि आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Categorized in सिनेमा