STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिकास बाेर्डद्वारा महिला चलचित्रकर्मीहरू सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र २१, शनिबार

चलचित्र विकास बोर्डको आयोजना तथा महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजनमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सञ्चालित ‘चलचित्रमा नारी’ महिला चलचित्र महोत्सव भव्य तथा गरिमामय रूपमा सम्पन्न भएको छ। समापन समारोहमा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनु भएका १० जना महिला चलचित्रकर्मीलाई ‘चलचित्रमा नारी सम्मान’ प्रदान गरिएको छ। 

समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव श्रीमती लक्ष्मीकुमारी बस्नेतज्यू प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। त्यसैगरी नेपाली चलचित्र क्षेत्रका अग्रज व्यक्तित्वहरू भुवन चन्दा  र चैत्यदेवी सिंह को सम्मानित उपस्थितिले कार्यक्रमलाई अझ गरिमामय बनाएको थियो। साथै चलचित्र विकास बोर्डका पदाधिकारी, केन्द्रीय चलचित्र जाँच समितिका सदस्यहरू, चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा चलचित्रकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। 

यस अवसरमा सम्मानित हुने महिला चलचित्रकर्मीहरूमा गौरी मल्ल, ऋचा शर्मा, अञ्जना बराइली, शारदा गिरी, रीना मोक्तान, प्रज्ञा जोशी, देविका बन्दना, गीता अधिकारी, लक्ष्मी श्रेष्ठ र गौमाया गुरुङ रहनु भएको थियो। उहाँहरूलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो। 

समापन समारोहको अर्को विशेष आकर्षण महिला कलाकारद्वारा प्रस्तुत नेपाली नौमति बाजासहितको सांगीतिक प्रस्तुति रह्यो। यस क्रममा देविका बन्दना, बिन्दु परियार, समीक्षा दाहाल लगायतका कलाकारहरूले आफ्नो प्रस्तुतिमार्फत समारोहलाई थप भावपूर्ण, सांगीतिक र स्मरणीय बनाउनु भयो।

यसैक्रममा चलचित्र ‘कुमारी’ का कलाकारहरूको मुहारचित्र हस्तान्तरण तथा ललितकला कलाकारहरूलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो। यसले महोत्सवलाई केवल सम्मान समारोहमा सीमित नराखी नेपाली चलचित्रको कला, संस्कृति र योगदानको साझा उत्सवका रूपमा स्थापित गरेको छ। 

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि लक्ष्मीकुमारी बस्नेतज्यू को सम्बोधन तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. बाट धन्यवाद ज्ञापन गरिएको थियो। साथै अध्यक्षले प्रमुख अतिथिलाई सम्झनाको चिनो प्रदान गर्नु भएको थियो। 

नेपाली चलचित्र क्षेत्रमा महिलाले पुर्‍याउनु भएको योगदान केवल प्रशंसाको विषय मात्र नभई संस्थागत सम्मान, प्रेरणा र गौरवको विषय हो भन्ने सन्देश यस महोत्सवले पुनः स्थापित गरेको छ।

Categorized in सिनेमा