STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बालाजुबाट पक्राउ परेका अभियन्ताहरु छुटे, ईन्द्रचोकमा मैनबत्ती बाल्दै स्वागत

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ फाल्गुण १८, मंगलबार

काठमाडौं – बालाजु बाइपास सडकमा विरोध गर्दा पक्राउ परेका सडक विस्तार पीडित तथा अभियन्ताहरूलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै सम्पदा अभियन्ताहरु रिहा भएका छन् । उनीहरुको रिहाइको स्वागत गर्न ईन्द्रचोकमा मैनबत्ती बाल्दै एक कार्यक्रमको आयोजना पनि गरिएको छ ।

सम्पदा अभियन्ताहरुले आफ्नै मातृभाषा नेपालभाषाबाट बोलेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेका थिए । ईन्द्रचोकको स्वागत कार्यक्रममा ‘मेरो भाषा बोल्दा जेल कोचे’ जस्ता नारा भएका पम्प्लेटहरुबाट सरकार तथा स्थानीय प्रशासनले मातृभाषामाथि हुने गरेको दमनमाथि व्यंग्य पनि गरिएको थियो ।

काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ परेका आठजनालाई सर्वोच्च अदालतले मंगलबार रिहा गर्न आदेश दिएको अभियन्ताका वकिल जितेन्द्र बज्राचार्यले जानकारी दिए । न्यायाधीश प्रकाशमान सिंह राउत र दीपककुमार कार्कीको इजलासले उनीहरूलाई छाड्न आदेश दिएको हो ।

महानगरीय प्रहरी वृत्त, बालाजुले गत बुधबार काठमाडौं महानगरपालिकाले बाइपास सडकमा बनाउन लागेको सूचना केन्द्रका बारहरू भत्काएको भन्दै ६ जना स्थानीयलाई पक्राउ गरेको थियो ।

‘नेपालभाषामा बोल्दा जेल कोचे’

प्रहरीले सुरूमा मीनबहादुर शाही, महेश्वर मानन्धर, सञ्जय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ र रूचित श्रेष्ठलाई पक्राउ गरी लगेको थियो । काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि र विरोचन श्रेष्ठ पक्राउ परेकाहरुलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए । त्यही क्रममा उनीहरूले पक्राउ पर्नेहरूसँग नेपालभाषामा संवाद गरेका थिए । प्रहरीले नेपालभाषामा बोल्न रोकेपछि विवाद भएको थियो । त्यसैक्रममा अभियन्ता दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

निवेदकहरूलाई मंगलबारै थुनामुक्त बनाउन सर्वोच्चले आदेश जारी गरेको हो । उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सोमबार म्याद सकेपछि थप पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको थियो ।

रिहा भएलगत्तै मंगलबार साँझ पाँचबजे इन्द्रचोकमा भएको मैनबत्ती र्यालीमा उनीहरु सहभागी भएको थियो ।

Categorized in उपत्यका