STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बालकुमारी घटनामा सहमति : पीडित परिवारले शव बुझ्ने, सरकारले शहीद घोषणा गर्ने

Janjati Khabar – Janjati Khabar | २०८० पौष १७, मंगलबार

काठमाडौं- गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँग भएको झडपमा ज्यान गुमाएका दुईजना युवाका परिवार र सरकारबीच सहमति भएको छ ।

शुक्रबार बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषय भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतका परिवारले सरकारसँग ४ बुँदे सहमति गरेका हुन् ।

सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारका प्रतिनिधिबीचको वार्तापछि उक्त चार बुँदे सहमतिमा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार सरकारले मृतक दुवै युवाका परिवारसँगको सल्लाहमा १/१ जनालाई उपयुक्त रोजगारी यथाशीघ्र उपलब्ध गराउने भएको छ ।

त्यसैगरी सरकारले घोषणा गरेको जनही १०/१० लाख रुपैयाँ राहत पनि यथाशीघ्र उपलब्ध गराउने प्रतिबद्धता सरकारले गरेको छ ।

सहमतिअनुसार मृतक वीरेन्द्र र सुजनलाई शहीद घोषणा गर्न आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने भएको छ ।

सहमतिपछि मृतकका परिवारले सोमबार नै शव बुझिलिने भएका छन् । मृतकहरूको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने व्यवस्था गृहमन्त्रालयले गरिदिने भएको छ । 

यसैबीच दुई युवाको ज्यान गएको घटना छानबिनका लागि सोमबारको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको छ । सरकारले यसअघि नै मृतकका परिवारका सदस्यलाई प्रतिपरिवार १० रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

Categorized in राष्ट्रिय