बारा २ उपनिर्वाचन : उपेन्द्रको अग्रता कायमै
Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १२, मंगलबार
काठमाडौं - बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । अहिले राति ८ः३० बजेसम्मको मतगणना परिमाण अनुसार जनता समाजावदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई कायम राखेका छन्।
कूल खसेको ६८ हजार आठ सय ८७ मतमध्ये हालसम्म ५५ हजार पाँच सय १३ मतगणना हुँदा अध्यक्ष यादवले २२ हजार पाँच सय ५२ मतका साथ अग्रता कायम राखेका हुन्। उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले १९ हजार नौ सय २३ मत ल्याएर पच्छयाइरहेका छन्।
यस्तै नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले छ हजार पाँच सय एक मत ल्याएर तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार छ सय ८१ मत ल्याएर चौथो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अब १३ हजार पाँच सय ९४ मत गणना गर्न बाँकी छ ।
मतगणना भइरहेको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।
कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो । महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाँउपालिकाको ४४ वटा वडा समेटिएको छ ।
Categorized in राजनीति

