STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बाढीपहिरोबाट हालसम्म सातको मृत्यु, २५ बेपत्ता

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ३, बिहिबार

काठमाडौं - मनसुनको शुरुआतमै देशका विभिन्न स्थानमा बाढीपहिरका अकल्पनीय घटना हुन थालेका छन् । सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढीपहिरोले प्रभावित हुन पुगेको छ ।

विज्ञका अनुसार यसपाली अप्रत्यासित रुपमा लेदो र गेगरसहितको बाढी आएको थियो । यसले बढी क्षति पुर्याउन मद्दत गर्यो । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा बर्षा हुने र केही ठाउँमा अति भारी हुने अनुमान सार्वजनिक गरेको थियो ।

पूर्व सूचनाका बीच पनि शुरुआती चरणमै मनसुनजन्य घटनाबाट हुने असर न्युनिकरण हुन सकेन । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस हुन पुगेको छ ।

गत जेठ २८ गते मनसुन प्रवेश गरी ३० गते देशैभरी फैलिएसँगै आएको भारी वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा सात जनाको मृत्यु भएको छ । अन्य २५ जना हराइरहेका छन् । गत वर्ष भेलपहिरोका कारण ठुलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकले यसपाली पनि मनसुनको शुरुवाती समयमै त्यसैगरी प्रभावित हुन पुगेको छ ।

प्राप्त विवरण अनुसार सिन्धुपाल्चोकमा आजसम्म तीन जनाको मृत्यु भएको छ भने बाजुरा, पाल्पा, डोटी र कास्कीमा एक÷एक जनको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोकमा मृत्यु भएकामा दुई जना चिनिया नागरिक छन् । एक जनाको शव सिन्धुलीमा भेटिएको जनाइएको छ ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अहिलेसम्म सिन्धुपाल्चोक १४ जना सम्पर्क बिहीन रहेको जानकारी दिए । हराएका १८ मध्य चार जना सम्पर्कमा आइसकेका छन् । जाजरकोटमा विकट क्षेत्रमा ७ जना हराइरहेका छन् । बाजुरा, प्यूठान, अर्घाखाँची र काभ्रेमा एक÷एक जना वेपत्ता छन् ।

सिन्धुपाल्चोकमा यसपाली पनि अप्रत्यासित रुपमा बाढी आएको हो । हेलम्बु गाउँपालिका वडा नं १ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो खसेर मेलम्ची नदी थुनिएको र त्यही फुटेपछि ठुलो दुर्घटना हुन पुगेको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ । त्यसले हेलम्बु र मेलम्चीको नदी आसपास क्षेत्रमा ठुलो असर पुर्याएको छ ।

सिन्धुपाल्चोकलगायत प्रभावित जिल्लामा उद्धार र राहत वितरण जारी रहेको जनाइएको छ । अहिलेसम्म सिन्धुपाल्चोकका जोखिम क्षेत्रबाट ७४ जनाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको जनाइएको छ ।

मेलम्ची नगरपालिकामा ६०० जना, हेलम्बु गाउँपालिकामा ३०० बढी प्रभावित भएको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए । उनका अनुसार अन्य विवरण संकलन जारी रहेको जनाइएको छ । भौतिक क्षेत्रको विषयमा आजदेखि विवरण सङ्कलन थालिएको छ ।

जाजरकोटमा भएको घटना भने गत जेठ ३१ गते भएको थियो । जिल्ला सदरमुकामबाट निक्कै टाढा तथा चार हजार ८०० मिटरको उचाईमा घटना हुन पुगेकाले विवरण ढिला आएको हो ।

जिल्लामा सात जना हराइरहेका छन् । घटनास्थलमा प्रहरी टोली पठाइएको तर विस्तृत विवरण आइसकेको छैन । कुसे गाउँपालिका ८ जलजला पाटनमा अविरल बर्षा र हावाहुरीले गर्दा सात जना हराइरहेका जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले राससलाई जानकारी दिए ।

उनका अनुसार पाटनमा गाइवस्तु लिन गएका ११ जना मध्य अन्य चार जना भने सम्पर्कमा आएका छन् । विभिन्न जिल्लामा गरेर १२ जना घाइते भएको र उनीहरुको उपचार जारी रहेको छ । सरकारले उनीहरुको उपचार निशुल्क गर्ने घोषणा गरिसकेको छ ।

Categorized in अपराध-दुर्घटना