STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बझाङ भूकम्प : एक महिलाको मृत्यु, घाइते हुनेको संख्या १५ पुग्यो

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन १६, मंगलबार

काठमाडौं - बझाङमा भूकम्पपछि आएको पहिरोमा परी एक महिलाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका-११ स्थित मयानास्थित ओखलकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। टिमुर टिप्न गएका बेला ढुंगा खसेर टाउकोमा चोट लाग्दा उनको  मृत्यु भएको हो। 

त्यस्तै भूकम्पबाट घाइते हुनेको संख्या १५ पुगेको छ। ७ वर्षीय सलिना जोशीको खुट्टा र ११ वर्षीया प्रमिला जोशीको हाथ भाँचिएकाले थप उपचारको लागि जिल्ला बाहिर रेफर गरिएको प्रहरीले जनाएको छर 

चैनपुरमा मात्रै २० घरमा क्षति

जिल्लामै केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा सदरमुकाम चैनपुरमा मात्रै २० घरमा क्षति पुगेको छ। स्थानीय प्रशासनका अनुसार मानवीय क्षति नभए पनि २० घर भत्किएका छन्।

बझाङमा १२ वटै पालिकामा पुराना तथा कच्ची घर र केही विद्यालयमा समेत क्षति पुगेको छ। भूकम्पबाट त्रसित स्थानीहरू सडक र खुला चौरमा बसेका छन्। भूकम्पका कारण विद्युत अवरोध भएको छ भने राजमार्गमासमेत पहिरो गएको प्रहरीले जनाएको छ। 

त्यस्तै जयपृथ्वी नगरपालिकाको जालपा मावि र सत्यवादी माविका ५ जना विद्यार्थी घाइते भई जिल्ला अस्पतालमा भर्ना भएका छन्। भूकम्पका कारण स्कुलमा भागदौड मच्चिएको थियो। 

त्यस्तै बझाङ जिल्ला अस्पतालमा भूकम्पको त्रासले सुत्केरीलाई बाहिर प्रांगणमा ल्याएर सुत्केरी गराइएको छ भने जयपृथ्वी राजमार्गअन्तर्गत जालेबगरमा काम गरिरहेका २ जना श्रमिक गम्भीर घाइते भएका छन्। पराकम्पन आउने क्रम जारी छ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यस्तै दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैनपुर केन्द्रबिन्दु आसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट अहिलेसम्म १३ जना घाइते भएको तथ्यांक छ ।

यस्तै सदरमुकाम र विभिन्न स्थानीय तहका दर्जनौं घरहरूमा क्षति भएको छ । सदरमुकामका पक्की घरहरू चर्किएका छन् । गाउँका कच्ची घर तथा विद्यालयहरू भत्किएका छन् ।

भूकम्पले घर क्षति गरेपछि स्थानीयहरूको खुला आकासमुनि बास भएको छ। घरमा क्षति नभएकाहरू पनि भूकम्पको त्रासले बाहिरै बसेका छन् ।

जिल्लामा भूकम्पका कारण जनजीवन प्रभावित बनेको छ। सुरक्षित ठाउँमा रहन जिल्ला प्रशासन बझाङले अनुरोध गरेको छ। कुन ठाउँमा कति क्षति भयो भन्नेबारे प्रहरीले तथ्यांक संकलन गरिरहेको छ ।

Categorized in अपराध-दुर्घटना