बज्राचार्य गुरुहरुलाई बज्रसत्व अभिषेक प्रदान
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ३, शुक्रबार
बज्रयान बौद्धधर्ममा अतिविशिष्ट दीक्षा हासिल गर्ने प्रशिक्षार्थीहरुलाई बज्रसत्व अभिषेक प्रदान गरिएको छ । बुद्धधर्ममा बज्रसत्व अभिषेकलाई एक विशिष्ट दीक्षाका रूपमा लिइन्छ ।
बौध्द दर्शन अध्ययन पुचःको आयोजनामा तेस्रो बज्रसत्व अभिषेक नामक विशेष पूजा काठमाडौँको श्रीखण्ड तरूमूल महाविहारमा बज्रयान बौद्ध परम्पराअनुसार सम्पन्न भयो ।
बज्रयान बौद्ध धर्मका विभिन्न विधामा अध्ययन गर्ने बौद्ध विद्यार्थीहरूलाई दीक्षित हुने परम्परा रहिआएको छ । बज्रसत्व अभिषेकबाट दीक्षित हुने विद्यार्थीहरूले बौद्ध दर्शन तथा बज्रयानतर्फका पूजा विधिका कक्षाहरू सफलातापूर्वक सम्पन्न गर्नुभएको थियो ।
बौद्धविद्वान यज्ञमानपति बज्राचार्यले ती बौद्ध प्रशिक्षार्थीहरुलाई बौद्धधर्मको अति महत्वपूर्ण बज्रसत्वको ज्ञान प्रदान गरी दीक्षित गर्नुभएको थियो ।
बज्रसत्वको ज्ञान बौद्ध दर्शनमा अतिविशिष्ट स्थान रहेको तथा बज्रयान बौद्ध धर्मको दर्शनका रूपमा रहेको बज्रसत्व र यससँग सम्बन्धित करीब १५०० वर्ष पुरानो चर्या नृत्यको दुर्लभ ज्ञान श्रद्धेय गुरू यज्ञमानपति बज्राचार्यले दीक्षित गर्नुभएको थियो ।
बज्रसत्व दर्शनबाट दीक्षित हुनुहुने प्रशिक्षार्थी गुरुहरुमा नेमबिलास बज्राचार्य, त्रिरत्न बज्राचार्य, मिण्डुरत्न बज्राचार्य, कृष्णमान बज्राचार्य, नवीनरत्न बज्राचार्य, श्रीकवीर बज्राचार्य, सागर बज्राचार्य, राजेश बज्राचार्य, राजीव बज्राचार्य र कुशल बज्राचार्य हुनुहुन्छ ।
महायान, बज्रयान तथा मन्त्रयान बौद्धधर्ममा बज्रसत्वलाई भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नु पूर्वको जन्मका बोधिसत्वको रूपमा लिइन्छ । बज्रसत्वलाई जापान, तिब्बत तथा भारतमा पनि बौद्ध धर्मावलम्बीहरुले विशिष्टरूपमा पुज्ने गर्दछन् ।
Categorized in राष्ट्रिय


