STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बजारमा चिनी अभाव : दुई किलो चिनी किन्न लाइन

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक ३, शुक्रबार

काठमाडौँ - बजारमा चिनी अभाव भएपछि काठमाडौंको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरु दुई किलो चिनी किन्नका लागि लाइन बस्न आएका छन् ।

नेपालीको मुख्य चाड दशैं, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई सरकारले काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आएका छन् । दशैँ, तिहार र छठमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्ने समयमा सरकारले दायित्व निभाउन नसकेको भट्टराईले गुनासो पोखे । उनले मुख्य चाडपर्वको समयमा २ किलो चिनी खरिद गर्न धादिङदेखि काठमाडौं आउनुपर्ने बाध्यता सरकारको लापरवाहीकै कारण भएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

चिनी लगायत दैनिक उपभोग्य वस्तुको उपलब्धता सयमा नै गराउनु राज्यको दायित्व भएको भन्दै राज्यले जनताप्रतिको दायित्व बिर्सेको उनको आरोप छ । भट्टराईले धादिङका खाद्यन्न पसलहरुमा चिनी नपाएको र कतै पाइए पनि किलोको १६० रुपैयाँसम्म पर्ने गरेको बताए । उनले जन्मेदेखि पहिलोपटक धादिङबाट २ किलो चिनी किन्न काठमाडौंमा आउनुपरेको दुखोसो पोखे ।

त्यस्तै, सहुलियत पसलमा चिनी किन्न लाइनमा बसेकी सावित्रा उप्रेतीले चिनी किन्न दुई घण्टा लाइन लाग्नुपरेको बताइन् उनले नेपालीको मुख्य चाड दशैँ, तिहार र छठ आउने समयमा सरकारले आवश्यकतालाई हेरेर समयमा नै उपलब्धता गराउन नसक्दा जनतालाई दुःख भएको बताइन् । सरकारले सञ्चालन गरेको सहुलियत पसलभन्दा बाहिरका पसलहरुमा चिनी नपाएको भन्दै २ किलो भए पनि लाइन बसेर लिन आएको उनको भनाइ छ ।

कीर्तिपुरबाट चिनी किन्नको लागि सहुलियत पसलमा आएकी पवित्रा थापाको पनि उस्तै गुनासो रहेको छ । उनले बजारमा चिनी नै नपाएकाले सहुलियत पसलमा चिनी किन्न आएको बताइन् । उनले २ किलो चिनी किन्न लामो लाइन बस्नुपर्दा दुःख लागेको बताइन् ।

यता साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई २ केजी उपलब्ध गराउने बताए । उनले सरकारले चाडपर्व लक्षित सञ्चालनमा आएका सहुलियत पसलमा लाइनमा बस्ने उपभोक्ताहरुलाई खाली हात नपठाउने बताए ।

चिनी अभाव हुने विषयमा गत जेठ महिनामा नेपाल सरकारसँग आग्रह गरे पनि सरकारले तत्कालिन समय स्वीकृति नदिँदा चिनीमा समस्या आएको उनको भनाइ छ । सरकारले समयमा नै स्वीकृत दिएको भए समयमा चिनी आयात हुने र अभाव झेल्न पर्ने अवस्था नआउने उनले बताए । सरकारले भदौ २७ गते निर्णय गरेर १० हजार मेट्रिक टन चिनी आयातका लागि साल्ट ट्रेडिङ कर्पोरेसन र १० हजार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृत दिए पनि भारतमा चिनी निर्यातमा रोक लगाएको कारण आयात गर्न समस्या भएको बताए ।

Categorized in बिजनेस