STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बग्दादमा अमेरिकाको ड्रोन आक्रमण, हिजबुल्लाह कमान्डर मारिए

Janjati Khabar – Janjati Khabar | २०८० माघ २५, बिहिबार

काठमाडौं- इराकको राजधानी बग्दादमा बुधबार अमेरिकाले ड्रोन आक्रमण गरेको छ । मिडिया रिपोर्ट अनुसार आक्रमणमा एक शीर्ष कमान्डरसहित इरान समर्थित मिलिसिया समूह कताइब हिजबुल्लाहका तीन सदस्यको मृत्यु भएको छ ।

पूर्वी बगदादको मश्ताल क्षेत्रको मुख्य सडकमा अमेरिकी ड्रोनले निशाना बनाएको गाडीमा कताइब हिजबुल्लाहका कमान्डर र उनका दुई सहयोगी थिए । आकस्मिक सेवा टोली घटनास्थल पुग्नुअघि नै कार जलेर नष्ट भएको थियो । 

एक अमेरिकी अधिकारीले कताइब हिजबुल्लाहका एक शीर्ष कमान्डरलाई ड्रोन आक्रमणमा निशाना बनाएको बताए । इराकी अधिकारीहरूका अनुसार मारिएका मध्ये एक जना विसाम मोहम्मद अबु बकर अल–सादी सिरियामा कटाइब हिजबुल्लाहको कारबाहीका कमान्डर थिए । 

जोर्डनको सैन्य आधारमा भएको हमलापछि अमेरिकाले गत हप्ता इराक र सिरियामा इरान समर्थित आतङ्कवादी समूहका दर्जनौं स्थानमा बमबारी गरेको थियो । जसमा धेरै मिलिसिया सदस्य मारिएका थिए । क्षेत्रीय तनावकाबीच अमेरिकाले फेरि एक पटक ड्रोन आक्रमण गरेको हो ।

अमेरिकाले जोर्डनमा रहेको सैन्य शिविरमा भएको आक्रमणको लागि इराकको इस्लामिक रेजिस्टेन्सलाई दोष दिएको छ । मारिएका मिलिसिया कमान्डर इस्लामिक प्रतिरोध सङ्गठनका नेता रहेको अधिकारीहरूले बताएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय