STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फाराम भरेको दुई वर्ष बित्दासमेत धारा पाइएन

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २५, बुधबार

दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले लामो समयदेखि खानेपानीको धारा वितरण गर्न सकेको छैन । लामो समयपछि गत वर्ष फागुनमा संस्थाले नयाँ धारा जडानका लागि आवेदन आह्वान ग¥यो । तुलसीपुर उपमहानगरपालिकाको निर्देशनपछि मात्रै खानेपानीले धारा जडानका लागि आवेदन ग¥यो । संस्थाले दुई हजार ५०० जनालाई नयाँ धारा जडानका लागि आवेदन खुला गरेको थियो । तर, त्यो भन्दा दुई वर्षअघि नै नयाँ धाराका लागि फाराम भरेका ७०० ले समेत नयाँ धारा पाएका छैनन् । अहिले धारा नपाएपछि उपभोक्ता आक्रोसित भएका छन् । धारा जडानका लागि भन्दै गत बैशाखमा रु २५ हजार राजश्वसमेत बुझाई सकेको भए पनि अहिलेसम्म धारा जडान भएको छैन । नयाँ धारा जडानका लागि गत बैशाख १५ गतेभित्र राजश्व बुझाउन खानेपानीले अनुरोध गरेको भन्दै सोही आधारमा राजश्व बुझाइएको थियो । दुई वर्षअघि खोलिएको आवेदनमा ७०० जनाले फाराम भरेको भन्दै ती उपभोक्तालाई चाँडै तीजपछि धारा वितरण गर्ने तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो । गत वर्ष फागुनमा आवेदन माग गरिएकाको भने अझै एक÷दुई वर्ष लाग्न सक्ने उहाँको भनाइ छ । अहिले खानेपानीको उपयुक्त स्रोत नहुँदा पनि धारा वितरण गर्न नसकिएको उहाँले बताउनुभयो । “यही वर्षको साउनमा हामीले नयाँ धारा जडान गर्ने योजना बनाएका थियौँ”, उहाँले भन्नुभयो, “तर पर्याप्त वर्षा भएन, मुहान बढेनन्, त्यसैले पनि हामीले नयाँ धारा जडान गर्न सकेनौँ ।” अर्कोतर्फ कार्यसमितिको बैठक पनि नबसेकाले यस्तो समस्या भएको समेत उहाँको भनाइ छ । दुई महीनादेखि कार्यसमितिको बैठक बस्न नसकेको उहाँले बताउनुभयो । नयाँ धारा जडान गर्दा पानी पु¥याउन केही समस्या भए पनि फाराम भरेकालाई धारा भने जडान गर्ने उहाँले बताउनुभयो । नयाँ मुहानको व्यवस्था नहुँदासम्म धारा वितरण गर्न नसकिने अध्यक्ष ओलीको भनाइ छ । त्यसका लागि करीब रु ४०÷५० करोडको योजना पूरा भएको हुनुपर्ने उहाँको भनाइ छ । धारा दिने ठूलो कुरा नभई जडान गरेका धारामा नियमित पानी दिनु ठूलो कुरा हुने उहाँको भनाइ छ । उहाँले बबईको पानी लिफ्टिङ गरेर ल्याउनका लागि डिपिआर भइरहेकाले सोही योजनाको काम पूरा भएपछि मात्रै थप धारा जडान गर्न सकिने बताउनुभयो । अहिले तुलसीपुरमा छ हजार ५०० धारामा दैनिक खानेपानी प्रदान गरिँदै आइएको छ । तीमध्ये एउटा धाराको सहारा १५ घरपरिवारले लिनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । सरकारले अघि सारेको ‘एक घर, एक धारा’ को अवधारणालाई अघि बढाउनका लागि तुलसीपुरमा अझै थप १५ हजार धारा वितरण गर्नुपर्ने आवश्यकता रहेकोसमेत अध्यक्ष ओलीको भनाइ छ । यो समस्या समाधान गर्न पातुखोलामा हाइड्याम निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।
Categorized in उपत्यका