STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रसाईँका समर्थकको धरपकडमा राप्रपा र राप्रपा नेपालकाे आपत्ति

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ८, शुक्रबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई नजरबन्दमा राखेको तथा उनका समर्थकलाई धरपकड गरेपछि राप्रपा र राप्रपा नेपालले आपत्ति जनाएका हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आज दुर्गा प्रसाईँका समर्थकलाई प्रहरीले धरपकड गरेकोप्रति आपत्ति जनाएका छन् ।

‘शान्तिपूर्ण विरोध प्रदर्शन, जुलुस र सभा गर्न पाउने संवैधानिक अधिकारको अपहरण गर्दै आज काठमाडौंमा जथाभावी धरपकड गर्ने, नजरबन्द गर्ने र प्रदर्शन निषेध गर्ने सरकारको निरंकुश र दमनकारी कार्यको राप्रपा नेपाल भर्त्सना गर्दछ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘प्रशासनिक दमनबाट होइन, वार्ता र सहमतिको आधारमा समाधान खोजिनु पर्छ ।’

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागीहरुलाई सरकारले धरपकड गर्नु मौलिक हकविपरीत कार्य भएको बताएका छन् । प्रहरीले शुक्रबार दुर्गा प्रसाईँका समर्थकहरुलाई तीनकुनेमा प्रदर्शन गर्न खोज्दा पक्राउ गरेपछि लिङ्देनले आपत्ति जनाएका हुन् । साथै प्रसाईँलाई नजरबन्दमा राखिएको लिङ्देनको आरोप छ ।

अध्यक्ष लिङ्देन भन्छन्, ‘शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घटनाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन् ।’ धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान ननिस्कने बताउँदै लिङ्देन भन्छन्, ‘सरकारले आफूलाई तत्काल सच्याओस् ।’

Categorized in राजनीति