Salt Trading
Swasthya Mantralaya
Prabhu Bank Header Bottom

प्रधानमन्त्री र उपराष्ट्रपतिद्वारा तीजको शुभकामना

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २४, बिहिबार

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिनुभएको छ । भाद्र शुक्ल पक्ष तृतीयाका दिन पर्ने हरितालिका तीज भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै पारिवारिक सुस्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासका साथ मनाउने गरिन्छ ।

कोभिड–१९ को कारण हर्षाेल्लासपूर्वक पारिवारिक जमघट साथ मनाउन नपाए पनि महामारीको यस अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्दै हरितालिका तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन प्रधानमन्त्री देउवाले सबैमा अनुरोध गर्नुभएको छ ।

महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका (तीज)–२०७८ को अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । 

तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले परम्परागत मूल्य मान्यतासहित आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तीज मान्न दिदीबहिनीलाई आग्रह गर्नुभएको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकाले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन पनि उहाँले आग्रह गर्नुभएको छ । 

“नेपालको राजनीतिक परिवर्तन र नेपाललाई विश्वसामु परिचति गराउन नेपाली महिलाको योगदान उच्च छ । म यो महान् पर्वको अवसरमा नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा महिलाहरूले पु¥याउनु भएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु”, सन्देशमा उपराष्ट्रपतिले भन्नुभएको छ, “राज्यको हरेक निकायमा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व, पैतृक सम्पत्तिमा महिलाको हकलगायत राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा प्राप्त महिला अधिकारका लागि गौरव गर्न आग्रहसमेत गर्दछु ।’

उपराष्ट्रपतिले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षाका लागि सचेत हुन र खबरदारी जारी राख्न आग्रह गर्नुभएको छ । रासस

Categorized in राष्ट्रिय
Newa Online Adv