STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीको जित

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १२, आइतबार

दाङ – लुम्बिनी प्रदेशले सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा सानदार विजयी सुरुवात गरेको छ । समूह ए मा रहेको लुम्बिनीले लमहीको देउखुरी क्रिकेट मैदानमा भएकाे पहिलो खेलमा प्रदेश नम्बर २ लाई ९ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको हो ।

जितका लागि ७८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १६.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गरे । लुम्बिनीकी गिता गोसाई ४२ बलमा २ चौका सहित २३ रनमा अविजित रहिन् । कप्तान नेरी थापा १३ बलमा २ चौका सहित १५ रनमा अविजित रहिन् ।

पहिलो विकेटका लागि गिता गोसाई र सरस्वती घर्ती मगरले १२ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सरस्वतीलाई कविता गौतमले २२ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएकी थिइन् । उनले ४२ बलमा १ चौका प्रहार गरिन् । प्रदेश २ की मध्य गतिकी बलर कविता गौतमले १ विकेट लिइन् । अन्यले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको प्रदेश नम्बर २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७७ रन बनाएको थिए । प्रदेश २ का लागि ओपनर सना प्रविन र अनु चौधरीले सर्वाधिक २१–२१ रनको योगदान दिएका थिए ।

तीव्र गतिकी बलर सुस्मिता भुषालले पहिलो ओभरको चोथो बलमा मेलिना रायमाझीलाई शून्य रनमा बोल्ड आउट गरेकी थिइन् । चौथो ओभरको पाँचौ बलमा स्वस्तीका बजगाईंले गोमा आलेलाई ३ रनमा एलबिडब्लू आउट गरिन् । सुस्मिताले पाँचौ ओभरको चौथो बलमा कप्तान सरस्वती चौधरीलाई विकेटकिपर नितु भण्डारीबाट क्याच आउट गराएकी थिइन् ।

स्पिनर गिता गोसाईको १३ औं ओभरको चौथो बलमा अघि सेरर सट खेल्नेक्रममा अनुराधा विकेटकिपर नितुबाट स्टम्पिङ हुन पुगेकी थिइन् । उनले ४१ बलमा १ चौका प्रहार गरिन् । १९ औ ओभरको अन्तिम बलमा बिमला मगरलाई सुस्मिताले १० रनमा एलबिडब्लू आउट गरिन् । उनले १४ बलमा १ चौका प्रहार गरिन् ।

लुम्बिनीकी सुस्मिता भुषालले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । स्वस्तीका बजागाईंले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिइन् । स्पिनर गिता गोसाईको नाममा १ विकेट लिइन् ।

दोस्रो खेलमा लुम्बिनीले आइतबार कर्णाली प्रदेशविरुद्ध खेल्ने छ । आइतबार प्रदेश नम्बर २ ले एपिएफसँग खेल्ने छ ।  दोस्रो खेलमा एपिएफले कर्णालीको सामना गर्दैछ ।

Categorized in खेलकुद