STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान?

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ३, शनिबार

काठमाडाैं - प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत आइतबार हुन गइरहेको निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले आ-आफ्नाे क्षेत्रबाट मतदान गर्दै छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन् ।

यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा छन् । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्नुहुने जनाइएको छ । प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नेछिन् । 

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा पुगी मतदान गर्दैछन् । अध्यक्ष दाहालले भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दै छन् । सोही पार्टीका नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्दैछन् ।

यस्तै लोकतान्तिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गर्नेछन् ।  जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दै छन् । 

त्यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास–२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रबाट मतदान गर्दै छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौँ–३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्नेछन् ।

कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ–१६ पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गर्नेछन् । कांग्रेस नेता शेखर कोइरालाले विराटनगर–७ को आर्दश विद्यालयमा मतदान गर्नेछन् । जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरीबाट मतदान गर्दै छन् । 

जसपाका नेता राजेन्द्र श्रेष्ठले क्षेत्रपाटी ढल्कुस्थित मतदान केन्द्रमा मतदान गर्नेछन् ।लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही चन्द्रनगर–२ दुर्गा खोभारी जनता उमावि केन्द्रमा मतदान गर्दै छन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताले आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा मतदान गर्ने जनाइएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नपास्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्नेछन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि काठमाडौँ–५ स्थित टोखा–६, स्काइलार्क स्कुल धापासी केन्द्रबाट आफैँलाई मतदान गर्दै छन् । यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल–८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा मतदान गर्दै छन् ।

एमाले महासचिव शङ्कर पोखरेलले तुलसीपुर– १९, जनता विद्यापीठ केन्द्र बिजौरीबाट मतदान गर्नेछन् । संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङले इलाम–७ बालमन्दिर आधारभूत विद्यालय हाकिमटोलमा मतदान गर्नेछन् । एमाले नेता रामबहादुर थापाले भरतपुर–१० नारायणी नमूना माविमा मतदान गर्नेछन् । अर्का नेता टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क–९, अर्घा रजस्थल मावि रासीचौरमा मतदान गर्नेछन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् ।

यी नेताले आफैँलाई मतदान गर्न नपाउने

केही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्दै छन् भने कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैँलाई मतदान गर्न पाउने छैनन् । एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउनु हुनेछैन । मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले पाँच वर्षमा हुने आवधिक निर्वाचनमा समेत केही नेताले आफूले आफैँलाई मतदान गर्न वञ्चित हुनुपरेको छ ।

यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गर्नेछन् । त्यसैगरी आयुक्त ईश्वरीप्रसाद पौड्यालले ललितपुरको सानेपास्थित टीका विद्याश्रम माविमा मतदान केन्द्र र अर्का आयुक्त रामप्रसाद भण्डारीले अनामनगरस्थित मिलन विद्यामन्दिर केन्द्रमा मतदान गर्नेछन् । आयुक्त डा जानकीकुमारी तुलाधरले सुन्दरबजार नगरपालिका–२ महेन्द्र मन्दिर मावि परेवाडाँडा लमजुङमा र आयुक्त सगुन शमशेर जबराले टोखा नगरपालिका–४ धापासीस्थित फैमालचुली मतदान केन्द्रमा मतदान गर्नेछन् ।

Categorized in राजनीति