STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

प्रदेश नं ५ को स्थायी राजधानी दाङको विकल्प नभएको सुझा

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १४, मंगलबार

प्रदेश नं ५ को स्थायी राजधानी र नामकाबारेमा यहाँ सुझाव सङ्कलनार्थ आएको प्रदेशसभा सदस्य तथा विशेष समितिको टोलीसँग संवाद समिति दाङले आज अन्तरक्रिया गरेको छ । सो कार्यक्रमका वक्ताले प्रदेश नं ५ को स्थायी राजधानीका लागि दाङको विकल्प नभएको बताउनुभयो । स्थायी राजधानीबारे सुझाव सङ्कलनका लागि गठित विशेष समितिका सदस्य निर्मला क्षेत्री, कल्पना पाण्डे सहभागी सो छलफल कार्यक्रममा बोल्ने व्यक्तिहरुले प्रदेशका १२ जिल्लाकै मध्य विन्दु दाङ पर्ने भएकाले राजधानीका लागि यसको विकल्प नभएको सुझाव दिनुभयो । दाङ दक्षिण एशियाकै ठूलो उपत्यका, हावापानी, सुरक्षा, सुविधा, यातायात, प्राकृतिक, सामाजिक हिसावले पनि उपयुक्त भएकाले केन्द्रीय राजधानी बनाउने बहस भएको अवस्थामा प्रदेशको राजधानीका लागि अर्को विकल्प खोज्नु दाङलाई अन्याय हुने तुलसीपुरवासीले सुझाव दिए । गरीबी निवारण कोषका पूर्वकार्यकारी निर्देशक तथा तुलसीपुरवासी नहकुल केसीले भन्नुभयो, “प्रदेशले न्यायोचित तरिकाले राजधानी तोक्छ भने दाङ नै तोकियोस ।” प्रदेशको नाम भने लुम्बिनी र त्यसो नभए स्वर्गद्धारी राख्नुपर्ने सुझाव दिइएको थियो । सुझाव सङ्कलन विशेष समितिका सदस्य क्षेत्रीले प्रदेशका सबै जिल्लामा पुगेर छलफलका क्रममा सङ्कलन भएका आवाजलाई राजधानीका लागि गठन भएको समितिमा बुझाउने र प्रदेशका सबै जनतालाई न्याय हुने हिसाबले राजधानी तोक्ने बताउनुभयो । राजधानी तोक्न निकै चुनौती रहेको भन्दै क्षेत्रीले राजधानीका विषयमा आफूहरुले राजनीतिक दलभन्दा माथि उठेर निर्णय गर्नेसमेत बताउनुभयो । सो अवसरमा समाजका सबै क्षेत्रका दुई दर्जनबढी वक्ताहरुले सुझाव सङ्कलन समितिलाई मौखिक रुपमा सुझाव दिएका थिए । विशेष समितिका सदस्य क्षेत्री र पाण्डेको टोलीले घोराहीमा विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, आदिवासी जनजाति समुदाय, महिला, पत्रकार, व्यापारी, मजदुरलगायत समाजका विभिन्न पक्षसँग लिखित रुपमा सुझाव लिने कार्यक्रम रहेको छ ।
Categorized in राष्ट्रिय