प्रथम शहिद लखन थापा मगरको ऐतिहासिक स्मरण मा खुल्ला दौड प्रतियोगिता
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ माघ २८, बुधबार
नेपालका प्रथम शहिद लखन थापा मगरको ऐतिहासिक योगदान र बलिदानको स्मरणमा खुल्ला दौड प्रतियोगिता आयाेजना हुने भएकाे छ । मगरको १४९ औं स्मृति दिवसको अवसरमा प्रथम शहिद लखन थापा मगर स्मृति खुल्ला दौड प्रतियोगिता यही -२०८२ फागुन २ गते शनिबारका दिन बिहान ६ बजे काठमाडौंकाे शहिद गेटबाट सुरु हुने कुरा पत्रकार सम्मेलन गरी आयाेजक नेपाली कल्चरले जनाएकाे छ ।
प्रथम शहिद मगरको बलिदानी, देशप्रेम, साहस र क्रान्तिको चेतना र बलिदानीको सम्मान गर्दै उनको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार साथै युवापुस्तामा स्वास्थ्य, खेलकुद, संस्कृति र राष्ट्रिय इतिहास प्रतिको जागरण र गौरव फैलाउने उद्देश्यले नेपाली कल्चर मिडिया प्रालिको आयोजना, नेपाल मगर संघ, केन्द्रिय समितिको संरक्षकत्व साथै प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको संयोजनमा उक्त दौड प्रतियोगिता हुन लागेको हो ।
नेपालमा प्रजातन्त्र स्थापना गराउने उद्देश्यले पहिलोपटक राजनीतिक विद्रोह गरेको कारणले राणा शासक जंगबहादुरको ठाडो आदेशमा वि.सं.१९३३ फागुन २ गते झुन्ड्याइएका लखन थापा मगर नेपालका प्रथम सहिद हुन् । लखन थापा मगरको नेतृत्वमा दुई हजार भन्दा बढी नेपाली जनताहरु संगठित भइ वि.सं. १९२७ देखि १९३३ सम्म राणा शासनविरुद्ध पहिलो जनविद्रोह गरेका थिए। नेपाल सरकारले लखन थापा मगरलाई वि.सं. २०७२ असोज ३ गते नेपालको प्रथम सहिद घोषणा गरेको छ ।
एक हजारभन्दा बढि खुल्ला सहभागितामा आधारित रहने प्रतियोगिता १० किलोमिटर दूरी रहने आयाेजकाका संयाेजक रक्ष बहादुर रैकामगरले बताएका छन् । आयाेजककाअनुसार उक्त प्रतियोगिता महिला तथा पुरुष विधामा छुट्टाछुट्टै सञ्चालन गरि महिला तथा पुरुष प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय, सान्त्वना स्थान हासिल गर्ने धावक तथा धाविकाहरूलाई नगद र ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कारहरु प्रदान गरिनेछ । खेलकुदप्रेमी, युवायुवती, स्वास्थ्यप्रति सचेत नागरिक तथा प्रथम शहिद लखन थापा मगर साथै सम्पुर्ण सहिदहरुप्रति सम्मान र श्रद्धा राख्ने सम्पूर्णहरूलाई उक्त स्मृति दौड प्रतियोगितामा सक्रिय सहभागिता जनाउनसमेत उनले अपिल गरेका छन् ।
दौड प्रतियोगितामा नेपालको खेल इतिहासका सबैभन्दा प्रतिष्ठित र प्रेरणादायी एथलेट विशेषगरी लामो दूरी दौडऽ म्याराथनका जीवित इतिहास, दक्षिण एशियाली खेलकुद साफमा लगातार ४ पटक स्वर्ण पदक विजेता र एसियाली खेलकुदमा सहभागिता जनाउने पहिलो नेपाली एथलेट मध्येका एक वैकुण्ठ मानन्धर लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त धावकहरुको समेत उपस्थिति रहनेछ ।
दौड सुरु हुने स्थान र रुटमा सहिद गेटबाट सुरु भइ जमल, लैनचौर, नारायण गोपाल चोक, गोल्फुटार, बुढानिलकण्ठ, चपलीघुम्तीबाट देब्रे मोडेर तल्लो पासीकोट श्रीराम स्कुल हुदै नेपाली कल्चर मिडिया हाउस सम्म पुग्ने आयाेजकले जनाएकाे छ ।
यससँगै आयाेजक संयाेजक मगरले फागुन १३ गते दिउँसाे १ बजे नाचघरमा सांस्कृतिक कार्यक्रम गरिने बताएका छन् ।उनले सांस्कृतिक कार्यक्रमबाट उठेकाे सहयाेगले प्रथम सहिद लखन थापा मगर स्मृति भवन निमार्णमा याेगदान पुर्याउने बताए ।
Categorized in राष्ट्रिय

