STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पोखरामा नेकपाको विजयसभा

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १६, सोमबार

नेपाल कम्युनिष्ट पार्टी नेकपाले कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा जीत प्राप्त गरेपछि आज पोखरामा विजयसभाको आयोजना गरेको छ । सभामा नेकपाका गण्डकी प्रदेशका इन्चार्ज एवम् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित विद्या भट्टराईलाई बधाई दिनुभयो । उहाँले विकास र राष्ट्रियता बचाऊ अभियानमा कम्युनिष्ट पार्टीको विकल्प हुन नसक्ने भन्ने सन्देश उपनिर्वाचनले दिएको उल्लेख गर्दै जनताले सरकारको लिएको विकास निर्माणको नीतिलाई उपनिर्वाचनको माध्यमबाट अनुमोदन भएको स्पष्ट पार्नुभयो । राष्ट्रिय स्वाधीनता र ‘समृद्ध नेपाल र सुखी नेपाली’को सरकारको नीतिको पक्षमा जनताको अभिमत रहेको उल्लेख गर्दै उहाँले अर्को पटकको आम निर्वाचनमा नेकपाले दुई तिहाइ स्थानमा जीत प्राप्त गर्ने जिकिर गर्नुभयो । उहाँले स्वतन्त्र, भयरहित र निष्पक्ष रुपमा निर्वाचनसम्पन्न गराउन सुरक्षाकर्मीका साथै निजामती कर्मचारीले खेल्नुभएको भूमिका प्रशंसनीय रहेको जनाउनुभयो । नवनिर्वाचित भट्टराईले सो क्षेत्रका तत्कालीन सांसद रवीन्द्र अधिकारप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँका अधुरो सपनालाई पूरा गर्ने वचनबद्धता प्रकट गर्नुभयो । जनताले दिएको अभिमत र निर्देशनलाई पूरा गर्न आपूm दृढसङ्कल्पित रहेको उल्लेख गर्दै उहाँले सडक खानेपानी, स्वास्थ्य सेवा गुणस्तर बनाउनका लागि प्रतिबद्ध रहने धारणा प्रकट गर्नुभयो । भूमिहीनको समस्यालाई समाधान गर्न एक वर्षभित्रमा लालपुर्जा वितरण गर्ने व्यवस्था मिलाउने जानकारी गराउँदै उहाँले समृद्ध पोखराका लासग स्वास्थ्य तथा शिक्षा, उज्यालो पोखराका लागि विद्युत्का साथै सौर्य ऊर्जाको व्यवस्था, पोखराको आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्रका रुपमा विकास र अन्तर्राष्ट्रियस्तरको खेलकूद मैदान लगायतलाई प्राथमिकता राखिएको स्पष्ट पार्नुभयो । नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले जनताको अभिमतलाई व्यवहारमा उतार्नुपर्ने र जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशका सहइन्चार्य एवम् सांसद् खगराज अधिकारीले कास्की क्षेत्र नं २ को जीतलाई पार्टी एकताको समेत अनुमोदन गरेको तथा सङ्घीय, प्रदेश र स्थानीय सरकारले विकास र समृद्धिका लागि चालेका कदमलाई जनताले अनुमोदन गरेको रुपमा लिनुपर्ने धारणा प्रकट गर्नुभयो । नेकपाका कास्की इन्चार्ज राजकाजी गुरुङले जीतलाई उन्मादका रुपमा नलिइएको र जनताले दिएको जिम्मेवारीलाई पूरा गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । नेकपाका जिल्ला इन्चार्ज कृष्ण थापाले कास्कीलाई भ्रष्टाचारमुक्त र सामाजिक न्यायको जिल्ला बनाउनका लागि पार्टी सङ्कल्पित रहेको बताउनुभयो । नेकपा कार्यकर्ताले पार्टी र पार्टीको चुनाव चिह्नको झण्डा बोकेर पोखरामा विजययात्रा गरेका थिए । महेन्द्रपुलबाट शुरु भएको विजय जुलुस बजार परिक्रमासहित नयाँबजारस्थित प्रदर्शनी केन्द्रको परिसरमा पुगेर सभामा परिणत भएको थियो ।
Categorized in राष्ट्रिय