STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

पूर्वराज्यमन्त्री राय हत्या अभियुक्त सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण १४, सोमबार

सर्लाही- पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई सार्वजनिक गरिएको छ। जग्गासम्बन्धी मत भिन्नता र आर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्री रामचन्दको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीले रामचन्द्रको हत्याको आरोपमा उनकै घरमा सहयोगीको रुपमा काम गर्ने कविलासी नगरपालिका–३ का २५ वर्षीय राम उजैन राय र चन्द्रनगर गाउँपालिका–१ रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। 

मलङ्गवा नगरपालिका–४ स्थायी घर भएका ८१ वर्षीय पूर्वराज्यमन्त्री रामचन्द्रको साउन ७ गते राति चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित फार्म हाउसमा हत्या भएको थियो। धान खेती गर्न रतनपुर पुगेका रायको उखु काट्ने धारिलो हतियार फर्साले टाउको विभिन्न भागमा प्रहार गरी सुत्ने कोठामा हत्या गरिएको थियो। 

रामचन्द्रको हत्याको मुख्य कारण जग्गासम्बन्धी विवाद रहेको प्रहरीले जनाएको छ। रामचन्द्रको चन्द्रनगर–१ रतपुरस्थित बनाएको दुईकोठे फार्म हाउसको जग्गा आफ्नो हो भनी छिमेकी वीरेन्द्र रायले पाउनुपर्ने माग गर्दै आएका थिए। प्रमाण जुटाउनका लागि वीरेन्द्रले पूर्वराज्यमन्त्रीका सहयोगी राम उजैनलाई प्रयोग गरेको प्रहरीले जनाएको छ। 

वीरेन्द्रले सहयोगीलाई झुक्याई उक्त जमिनको नक्साको भिडिओ समेत बनाएको प्रहरी उपरीक्षक रबिन्द्रबहादुर सिंहले बताए। रामचन्द्रलाई मारे मात्र जग्गा पाउने दाउमा रहेका वीरेन्द्रले सहयोगीलाई प्रयोग गरेको प्रहरीले जनाएको छ।

केही दिन अगाडि वीरेन्द्रले सहयोगी राम उजैनलाई रामचन्द्रको हत्या गरेबापत दुई लाख रुपैयाँ र व्यवसायको लागि एउटा फार्म बनाइ दिन्छु भन्दै प्रलोभन दिएको प्रहरीले जनाएको छ। वीरेन्द्रको उक्साहट र प्रलोभनमा परी राम उजैनले राय एक्लै हत्या गरेको प्रहरीको भनाइ छ। 

Categorized in अपराध-दुर्घटना