STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पार्टीलाई सघाउने बागी उम्मेदवारलाई कांग्रेसले कारबाही नगर्ने

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १८, आइतबार

काठमाडौं - नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने भएको छ । आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको निर्देशन विपरित उम्मेदवारी दिने व्यक्ति पार्टी विधान अनुसार स्वतः पार्टीबाट निष्काशित हुने भएपनि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई पार्टीबाट निष्काशन नगरिने बताएका हुन् ।

उनले प्राविधिक कारणले समयमै उम्मेदवारी फिर्ता लिन नसक्नेहरुले आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकारेर प्रचारमा गएमा बिधानको व्यवस्था अनुसार नहुने उल्लेख गरे । उनले पार्टी र गठबन्धनको निर्णय अनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउन पनि बागी उम्मेदवारहरुलाई आग्रह गरे ।

उनले भने, ‘हाम्रो विधानको व्यवस्था अनुसार जसले पार्टीको निर्देशन विपरित उम्मेदवारी दिन्छ, स्वतः पार्टीबाट निष्काशित हुने व्यवस्था छ । तरपनि प्राविधिक कारणले तालमेल पछिल्लो समयसम्म तालमेलमा मिलाउनुपर्ने कारणले समयमा उम्मेदवारी फिर्ता दिन सक्नुभएन, प्राविधिक कारणले । पछि पार्टीको निर्देशनमा जसले वक्तव्यमार्फत् र पूरै समर्पित भएर आधिकारिक उम्मेदवारको पक्षमा जसले आफ्नो उम्मेदवारी फिर्ता लिनुहुन्छ, र आधिकारिक उम्मेदवारको पक्षमा प्रचारमा जानुहुन्छ उहाँहरुलाई जुन विधानको व्यवस्था छ त्यसलाई किनभने पार्टीको पक्षमा काम गरिसकेको हुनाले त्यो लागु नगर्ने कुराहरु हामी गर्छौ ।’

त्यस्तै प्रवक्ता महतले स्थानीय तह निर्वाचनमा तालमेल सफल भएको बताए । उनले कतिपय ठाउँमा स्थानीय अवस्थाका अनुसार तालमेलमा असन्तुष्टि देखिएपनि आम रुपमा हेर्दा गठबन्धन सफल भएको बताएका हुन् । उनले बागी उम्मेदवार पार्टी निर्णयको पक्षमा आउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हाम्रा पार्टीका साथीहरुले अत्यन्त अनुशासनका साथ जिम्मेवारीपूर्ण तरिकाबाट उम्मेदवारीहरु दर्ता गर्नुभयो । जहाँ हामीले तालमेल गर्‌यौँ, तालमेल गरिएको ठाउँहरुमा पनि अधिकांश साथीहरुले पार्टीको निर्णयलाई स्वीकार गरेर पार्टीको बृहत्तर हितमा काम गर्नुभएको छ । अपवाद ठाउँहरुमा बाहेक सबैले पार्टीको निर्णयलाई स्वीकार गर्नुभएको छ । हामी सबैलाई थाहा छ तालमेल बृहत्तर हितको लागि हामीले गरेको हो ।’

उनले थपे, ‘देशमा संविधानवाद, कानूनी शासन र देशलाई सुशासनको बाटोमा उन्मुख गर्ने नेपाली कांग्रेसको लक्ष्य हो । त्यो लक्ष्यमा अन्य दलहरु सामेल हुन चाहन्छन् र सँगसँगै अगाडि बढ्न चाहान्छन् । हाम्रो सरकार पनि त्यही अनुकुल सरकार बनेको छ । स्थानीय निकायमा पनि यो किसिमको प्रवन्ध गर्न हामी सफल भएका छौँ । धेरैलाई लागेको थियो यो तालमेल सफल हुन सक्दैन । धेरै ठुलो विद्रोह हुन्छ । त्यस्तो किसिमको अवस्था आएन ।’

उनले फेरि भनेका छन्, ‘हामीले स्थानीय तहमा कतिपय साथीहरुलाई के लागेको छ भने यो ठाउँमा हाम्रा मतदाताहरु ज्यादा छन् । त्यस अर्थमा अन्य दललाई किन प्रमुख पद दिएको ? भनेर केही ठाउँमा त्यस्तो खाले भावना साथीहरुमा छ । नभएको होइन । तथापी हामीले ठूलो तस्वीरलाई हेर्ने हो भने, बृहत्तर कुरालाई हेर्ने हो भने समग्रमा ठिक भएको छ । स्थानीय तहको माइक्रो लेभलमा हेर्दा नहुनुपर्ने कुरा भयो भन्याजस्तो पनि कतिपय ठाउँमा साथीहरुलाई लाग्या छ । तर ठुलो तस्वीरलाई हेर्ने हो भने जुन बाटो हामीले अख्तियार गरेका छौँ । जुन बाटोमा समग्र गठबन्धनमा रहेका दलहरु अगाडि बढिरहेका छन् जुन किसिमको बेथिति हिजो थियो ।’

त्यस्तै प्रवक्ता महतले पछिल्लो रिपोर्ट अनुसार नेपाली कांग्रेसको देशभरमा ३० हजार ६२८ जनाको उम्मेदवारी परेको बताए । जसमध्ये मेयरमा २६५ जना, गाउँपालिका अध्यक्षमा ३७२ जना, उपमेयरमा १९४ जना, गाउँपालिका उपाध्यक्षमा ३४० जना, वडा अध्यक्षमा ६ हजार ४३ जना, महिला सदस्यमा ५ हजार ९३८ जना, दलित महिला सदस्यमा ५ हजार ६९१ जना र अन्य दुई सदस्यको हकमा ११ हजार ९८८ जनाको उम्मेदवारी रहेको उनले जानकारी दिए ।

Categorized in राजनीति