STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पाकिस्तान विश्वकपको फाइनलमा

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक २३, बुधबार

 

एजेन्सी - बुधबार सिड्नीमा भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै पाकिस्तान अस्ट्रेलियामा जारी आईसीसी टी–ट्वेन्टी विश्वकपको फाइनलमा पुगेको छ। सन् २००९ पछि पहिलो पटक विश्वपको फाइनलमा पुगेको पाकिस्तानको यात्रा कुनै चलचित्रको पटकथाभन्दा कम रहेन।

सुपर १२ को पहिलो खेलमा भारतसँग चार विकेटले पराजित हुँदै यात्रा सुरु गरेको पाकिस्तानले दोस्रो खेलमा जिम्बाब्वेसँग अप्रत्यासित एक रनको हार बेहोरेको थियो। सुरुआती दुई खेलमा पराजित भएपछि सेमिफाइनल प्रवशेको सम्भावना कम त थियो नै जिम्बाब्वेविरुद्धको पराजयपछि बाबर आजम टिमको तीव्र आलोचनासमेत भएको थियो। पाकिस्तानी टिमसामू बाँकी खेलमा जितको विकल्प थिएन। तर, अगाडिको यात्रा अन्य टिमको नतिजामा निर्भर थियो।

सुपर–१२ अन्तर्गत समूह ‘दुई’मा परेको पाकिस्तानले नेदरल्यान्डविरुद्ध हासिल गरेको ६ विकेटको जित जारी प्रतियोगितामा पहिलो सफलता थियो। अन्तिम चारमा प्रवेशको सम्भावना कायम राख्न महत्त्वपूर्ण खेलमा दक्षिण अफ्रिकाविरुद्धको खेल थियो। वर्षाले प्रभावित त्यो खेलमा डकवर्थ लेविस मेथडमा पाकिस्तान ३३ रनले विजयी भयो।

‘गर या मर’को अवस्थामा रहेको दक्षिण अफ्रिकालाई नेदरल्यान्ड्सले १३ रनको हार थमाइदिएपछि पाकिस्तानको भाग्य खुलेको थियो। सुपर १२ बाट सेमिफाइनल यात्रा तय गर्न फेरि एक पटक पाएको सुवर्ण मौका पाकिस्तानले गुमाएन। समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध पाँच विकेटको फराकिलो जितसहित पाकिस्तानले रोमाञ्चक सेमिफाइनल यात्रा तय गर्यो।

समूह ‘दुई’बाट घिस्रिँदै सेमिफाइनलमा पुगेको पाकिस्तानसामु फाइनल प्रवेशका लागि समूह ‘एक’को विजेता र प्रतियोगितामा देखिएको सबैभन्दा सन्तुलित टिम न्युजिल्यान्डको चुनौती थियो। समूह चरणका चारमध्ये तीन खेल जितेको बलियो न्युजिल्यान्डको चुनौती सहजै पार गर्दै बाबर आजमको पाकिस्तान फाइनल पुग्ने पहिलो टिम बन्यो।

प्रतियोगिताका सुरुआती दिनमा सबैभन्दा पहिले घर फर्किने ठूलो टिमको लक्षण देखाएको पाकिस्तान नै अन्ततः फाइनल पुग्ने पहिलो टिम बन्यो। जारी विश्वकपका सुरुआती खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेका प्रमुख बलर शाहीन शाह अफ्रिदीको उत्कृष्ट बलिङमा पाकिस्तानले एक सय ५२ रनमा न्युजिल्यान्डलाई सीमित गरेको थियो।

दोसो इनिङमा प्रतियोगिताभर खराब लयका कारण आलोचित बाबर आजमले अर्का ओपनर रिजवानसँग पहिलो विकेटका लागि एक सय पाँच रनको साझेदारी गर्दै ५३ रनको शानदार इनिङ खेले। रिजवानले पनि ५७ रनको अर्धशतकीय इनिङसँगै पाकिस्तानले सात विकेटको सहज जित निकाल्दै फाइनलका लागि मेलबर्नको टिकट जित्यो।

टी–ट्वेन्टी विश्वकपका आठ संस्करणमध्ये ६ वटाको अन्तिम चारमा पुगेको पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेको हो। विश्वकपको पहिलो संस्करणमा फाइनलमा पुगेको पाकिस्तान भारतसँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो।

तर, लगातार दोस्रो पटक सन् २००९ मा फाइनलमा पुगेको पाकिस्तान श्रीलंकालाई पराजित गर्दै च्याम्पियन बनेको थियो। त्यसयता तीन पटक सेमिफाइनलबाट बाहिरिएको पाकिस्तान १३ वर्षपछि फेरि उपाधि नजिक पुगेको छ।

अब पाकिस्तानले बिहीबार हुने भारत र इङ्ल्यान्डबीच एडेलेडमा हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि खेल्नेछ।

Categorized in खेलकुद