STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ बैशाख १७, बुधबार

अमर साहित्यकार वानिरा गिरीको नाममा स्थापना गरिएको वानीरा फाउन्डेसनले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा बुधवार एक समारोहमाझ ‘नेपाली भाषासाहित्यको सिर्जनामा साढे छ दशकअघिदेखि निरन्तर साधनारत एवम् नेपालको उच्चशिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित’ प्राध्यापक रामकुमार पाँडेलाई २०८१ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्नुभयो । 

फाउण्डेशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले सो समारोहमा  ‘चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको गौरव बढाएबापत’ श्री शशि शाहलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्नुभएको थियो ।

यी दुवै पुरस्कारका राशि जनही एकएक लाख रुपियाँ रहेका छन् ।

सोही समारोहमा श्रीमती इन्दिरा प्रसाईले ‘कविता सिर्जनाका माध्यमबाट नेपाली भाषासाहित्यको संवर्धनमा सदैव समर्पित रही उल्लेख्य योगदान दिएबापत’ कविवर श्री कृष्ण बाउसेलाई पचास हजार रुपियाँ राशि सहित ‘वानीरा पुरस्कार’ समर्पण गर्नुभयो । 

समारेहमा पुरस्कृत व्यक्तित्वहरुबाट डा.वानीरा गिरिकृत कवितासङ्ग्रह ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’को नयाँ संस्करणको लोकार्पण गरियो ।

यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा.गिरीको पूर्ण कदका सालिकमा वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईबाट माल्यार्पण गरिएको थियो ।

इञ्जिनियर शङ्कर गिरीको प्रबल इच्छा बमोजिम वानीरा फाउन्डेसनको भवन तथा सङ्ग्रहालयको स्थापना भएको हो । 

वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरु प्रा.रामकुमार पाँडे, शशि शाह, कृष्ण बाउसे तथा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरि, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट वानीरा गिरिबारे मन्तव्य प्रकट भएको थियो ।

Categorized in साहित्य-कला