पाँच दिने अभिनय कला तालिम शुभारम्भ
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख २६, शनिबार
चलचित्र विकास बोर्ड र भुजेल चलचित्रकर्मी संघको संयुक्त आयोजनामा पाँच दिने अभिनय कला तालिम शुभारम्भ गरिएको छ।
जातीय तथा मातृभाषी चलचित्र क्षेत्रको क्षमता विकास, नयाँ कलाकारहरूको सीप अभिवृद्धि तथा समुदायको भाषा, संस्कृति र पहिचानलाई चलचित्रमार्फत प्रवर्द्धन गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको हो।
भुजेल चलचित्रकर्मी संघका अध्यक्ष अमृत सिं भुजेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो।
कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामा, भुजेल समाज सेवा केन्द्रीय समितिका उपाध्यक्ष रामगोपाल भुजेल, महासचिव हिलारी बन्धु भुजेल लगायत विभिन्न जातीय चलचित्र संघका प्रतिनिधि, चलचित्रकर्मी तथा कलाकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन भुजेल चलचित्रकर्मी संघकी महासचिव विपना तामाङ भुजेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका सह–अध्यक्ष राम बहादुर भुजेलले व्यक्त गर्नुभएको थियो।
पाँच दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षक आरुस जंग मगर र चन्द्र बहादुर भुजेलले अभिनय कला, संवाद अभिव्यक्ति, पात्र निर्माण, क्यामेरा अगाडिको प्रस्तुति तथा कलाकारको व्यावसायिक अनुशासनसम्बन्धी प्रशिक्षण दिनुहुनेछ।
चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको समावेशी, सीपमुखी र समुदायकेन्द्रित विकासका लागि यस्ता प्रशिक्षण तथा सहकार्यका कार्यक्रमलाई निरन्तर प्राथमिकतामा राख्दै आएको छ। मातृभाषी तथा जातीय चलचित्र क्षेत्रको विकासले नेपाली चलचित्रको दायरा अझ फराकिलो, समृद्ध र विविध बनाउने विश्वास बोर्डले लिएको छ।
Categorized in सिनेमा

