पहिलो रंगीन नेपाली फिल्मकाे प्रदर्शन र दस महिला चलचित्रकर्मि सम्मान गर्ने उदघाेष
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र १८, बुधबार
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डद्वारा आयोजित चार दिने ‘महिला चलचित्र महोत्सव’ मंगलबार भव्य रूपमा उद्घाटन भएको छ।
महिला सशक्तीकरणलाई केन्द्रमा राखेर आयोजना गरिएको यस महोत्सवमा महिला विषयमा आधारित चलचित्र ‘कुमारी’ र ‘जीवन काँडाकी फूल’ प्रदर्शन, अन्तरक्रिया, सम्मान तथा विशेष सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ भने पहिलो दिन बुधबार पहिलो नेपाली रंगीन चलचित्र कुमारी काे प्रदर्शन गरिएको थियोे ।
महोत्सवको पहिलो दिन महिला चलचित्रकर्मी सशक्तिकरण समितिको परिचयात्मक भिडियो प्रदर्शन, चलचित्र ‘कुमारी’ का कलाकारहरूसँग विशेष अन्तरक्रिया, चलचित्र "कुमारी" प्रदर्शन, अनुभव आदानप्रदान तथा कुमारी चलचित्र टिमको लाइभ पोर्ट्रेट प्रस्तुति सम्पन्न भयो।
नेपालकी प्रथम नायिका भुवन चन्दज्यूको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चैत्यदेवी सिंह, प्रेम बस्न्यात, विष्णुगोपाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ लगायत विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। साथै विभिन्न स्रष्टा, कलाकार, निर्देशक तथा सरोकारवालाबीच अनुभव आदानप्रदान र अन्तरक्रियाले कार्यक्रमलाई अझ अर्थपूर्ण बनायो।
कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीज्यूले नेपाली चलचित्र क्षेत्रमा महिलाको भूमिका केवल अभिनयमा सीमित नभई सिर्जना, नेतृत्व, व्यवस्थापन र सामाजिक रूपान्तरणसम्म विस्तारित रहेको उल्लेख गर्दै महिला चलचित्रकर्मीहरूको योगदानलाई संस्थागत रूपमा सम्मान गर्नु आजको आवश्यकता भएको बताउनुभयो। उहाँले यस्ता महोत्सवले नयाँ पुस्तालाई प्रेरणा दिने र चलचित्र क्षेत्रलाई अझ समावेशी, सशक्त र मर्यादित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
महिला सशक्तीकरण समिति द्वारा आयाेजित साे कार्यक्रममा समिति काे तर्फबाट सन्चारकर्मि एवं गीतकार गीता अधिकारी ले स्वागत मन्तव्य राख्नु भएको थियोे भने नेपाली चलचित्र क्षेत्रमा महिलाको योगदान, संघर्ष, सिर्जना र नेतृत्वलाई सम्मान गर्ने यो महोत्सव २० गतेसम्म सञ्चालन हुनेछ भने नेपालकाे चलचित्र जगतमा याेगदान महिला चलचित्रकर्मिहरुलाई सम्मानित गर्ने कुरा पनि अध्यक्ष दिनेश डि सिले घाेषणा गर्नु भयो ।
Categorized in सिनेमा

