STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पशुपति महायज्ञका लागि प्रचार अभियान

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १०, आइतबार

काठमाडौँको पशुपतिमा शुरु हुनलागेको विराट ज्ञान महायज्ञको प्रचारप्रसार अभियानसँगै भेटघाट कार्यक्रम तीव्र पारिएको छ । विभिन्न उपसमिति बनाएर प्रचारप्रसारका कार्यक्रम तीव्र पारिएको हो । चितवन, तनहुँ र देवघाटको सङ्गम देवघाटमा सुन्दर पार्कसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण गर्न आर्थिक तथा धातु सङ्कलन गर्ने उद्देश्यले आगामी वैशाखमा हुनलागेको महायज्ञका विषयमा शनिबार वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीलगायत सरकारी अधिकारीसँग छलफल गरिएको छ । सो क्रममा सचिव ओलीले देवघाटको धार्मिक पर्यटन विकासका लागि शिवमूर्तिले महत्वपूर्ण भूमिका खेल्ने भन्दै महायज्ञ सफल पार्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । छलफलमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का, कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदी, वन अनुसन्धान प्रशिक्षण विभागका महानिर्देशक दीपक खनाल, वन विज्ञान अध्ययन संस्थानका डिन कृष्णराज तिवारी, महालेखा परीक्षकको कार्यालयका कर्मचारीलगायतको सहभागिता थियो । आगामी वैशाख १ देखि ११ गतेसम्म हुनलागेको ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ को प्रचारप्रसारअन्तर्गत शनिबार नै काठमाडौँको नागार्जुनस्थित रानीवनमा नाग भूषण मन्दिर संरक्षण एवं सामुदायिक संस्थाका अध्यक्ष विष्णुकुमारी सिंखडाको संयोजकत्वमा स्थानीय क्षेत्रमा प्रचारप्रसार तथा आर्थिक सहयोग सङ्कलन उपसमिति गठन भएको छ । झण्डै रु आठ करोडको लागतमा देवघाटमा शिवको मूर्तिसहित जमीनमुनि पूजा र सङ्ग्रहालय कोठा, यात्रु विश्रामगृह, पार्क निर्माण गर्ने योजना छ ।
Categorized in राष्ट्रिय