STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

परामर्श नगरी एक पक्षीयरुपमा पत्राचार गरेकोप्रति पुरातत्वलाई महानगरको ध्यानाकर्षण

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ माघ १६, शुक्रबार

कमलपोखरी पुनर्निर्माणका क्रममा समन्वय नगरेको भन्दै पुरातत्व विभागलाई काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण गराएको छ । 

काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख महेश काफ्लेले पुरातत्वलाई पत्र नै पठाएर ध्यानाकर्षण गराउनु भएको हो ।

कमलपोखरी पुनर्निर्माणका सन्र्दभमा पछिल्लो समय देखिएको विवादको विषयमा पुरातत्व विभागले महानगरपालिकासँग समन्वय नै नगरी महानगरपालिकालाई पठाएको भनिएका पत्र एकपक्षीय रुपमा पहिल्यै विभिन्न सञ्चारमाध्ययमलाई उपलब्ध गराएको महानगरपालिकाको आरोप छ ।

काठमाडौँ महानगरपालिकाबाट टेण्डर प्रक्रियामार्फत विगत दुई वर्षदेखि भैरहेको कमलपोखरी निर्माणको कामको बारेमा काठमाडौँ महानगरपालिकासँग कुनै राय–परामर्श नगरी एक पक्षीय रुपमा त्यहाँबाट भएको पत्राचारले सरकारी निकायहरुबिच समन्वय नभएको सन्देश प्रवाह हुने तथा पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरुको संरक्षण गर्न यस महानगरपालिकाको अभियानमा अवरोध सिर्जना हुने देखिन्छ भनि सो पत्रमा लेखिएको छ ।  

त्यसैगरी काठमाडौँ ममानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि तत्कालिन संघीय सांसद गगन कुमार थापालाई समेत पत्र लेखी कमलपोखरीको विकास तथा सुधारका लागि उहाँले गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गरिदिनु हुन आग्रह गर्नुभएको छ ।  

काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले प्रस्तावित ढाँचा सो क्षेत्रका तत्कालीन संघीय सांसद  गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै  कमलपोखरी पुनर्निर्माण अघि बढाएको पुनः दोहोर्याउनुभयो । 

उहाँले कमलपोखरी पुर्ननिर्माणका क्रममा त्यस आसपासका भौतिक संरचना हटाउनेलगायतका कार्य गर्दा त्यहाँको क्षेत्रफल अझ बढेको भन्दै  मौलिकता झल्किने गरी सम्पदाको संरक्षण गर्दै कला संस्कृतिलाई जोड्ने र मौलिकतालाई जोगाउँदै निर्माण गर्न लागेको पनि बताउनुभयो ।  

पोखरीको प्रस्तावित ढाँचा तयार गर्ने सन्दर्भमा कमलपोखरी क्षेत्रकै तत्कालिन सांसद थापासँग महानगरपालिकाले सहरी योजना आयोगको कार्यालय, अग्रवाल भवनलगायतका स्थानमा विभिन्न चरणमा छलफल गरेको थियो ।  थापाले छलफलका क्रममा संसद विकासकोष र नीजि बजेट समेतबाट पटक–पटक पोखरी पुनर्निमाणका लागि बजेट खर्च भएको  बताउनु भएको थियो । उहाँले विभिन्न चरणका छलफलमा पछिल्लो समय कमलपोखरी अस्तव्यस्त बनेको, छठ सुरु भएपछि त्यसले केही पुर्नजिवन पाएको, सार्कका बेला आएको बजेटबाट तारबार गर्नेलगायतका काम गरेको पनि बताउनु भएको सहरी योजना आयोगले जानकारी दिएको छ । पोखरीको केही जमिन मिचिएको र मिचिएको जमिन पनि कृषि मन्त्रालयको मत्स्य पोखरीको रुपमा रहेको पनि उहाँले छलफलका क्रममा बताउनु भएको थियो ।    

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि पुरातत्व विभागले महानगरपालिकासँग कुनै समन्वय नै नगरेको आरोप लगाउनुभयो । पुर्नर्निमाणको लामो समयसम्म अनदेखा गरेर बसेको पुरातत्वले निर्माणकार्यको अन्तिम चरणमा आएर गरेको कार्य  उचित नभएको बताउनुभयो ।  

उहाँले कमलपोखरी रानीपोखरीको जस्तो इतिहास नरहेको भन्दै लामो समयसम्म ढलको रुपमा रहेको कमल पोखरीलाई महानगरले सुन्दर पोखरी बनाउन लागेको बताउनुभयो । 

पुरातत्व जस्तो राज्यको निकायले समेत विकास निर्माणका कार्यमा असहयोग गर्न खोज्नु राम्रो नभएको काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभाग प्रमुखको तर्क छ ।

Categorized in उपत्यका