STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पञ्जावमा आम आदमी पार्टीको ऐतिहासिक जित, भगवन्त मुख्यमन्त्री बन्दै

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २६, बिहिबार

एजेन्सी - भारतमा बुधबार पाँचवटा राज्यको विधानसभा मतपरिणाम आउँदा आम आदमी पार्टी (आप) ले पञ्जावमा ऐतिहासिक जित हासिल गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालको पार्टी आपले पहिलो पटक दिल्लीबाट बाहिर कुनै राज्यमा सरकार बनाउन लागेको हो ।

भारतमा क्षेत्रीय दल क्षेत्रीयस्तरमै बलिया छन् । तर, ती दलहरूको सरकार एक राज्यबाट दुई राज्यमा छैन । तर, केजरिवालको आपले भने यो रेकर्ड तोडेको छ । अब उसको शासन दुई राज्यमा हुनेछ । २०१२ मा पहिलो पटक दिल्लीमा उदाएको आपले दिल्लीमा अन्य राजनीतिक दललाई असान्दर्भिक बनाइदिएको छ । दिल्लीमा लगभग उसको प्रतिस्पर्धी दल नै छैन ।

पञ्जावमा पहिलोपटक जित हात पार्दा आपले दिल्लीकै कथा दोहोर्‍याएको छ । ११७ सिट रहेको पञ्जावमा उसले दुईतिहाइ सिटमा जित्ने पक्का भएको छ । आप दक्षिण एसियाली राजनीतिमा नयाँ शक्तिका रूपमा वैकल्पिक राजनीतिक धारको सम्भावना देखाउने पार्टी हो । यो पार्टीको स्थापना जनताका सामान्य मुद्दा र भ्रष्टाचारविरोधी अभियानबाट भएको हो ।

दिल्लीमा केजरिवालले बिजुली र पानी निःशुल्कदेखि भ्रष्टाचारबाट मुक्तिको नारा दिएर चुनावमा पहिलो पटक पार्टीलाई उतार्दा नै सफलता पाएका थिए । दुई पटक दिल्लीमा आपले अन्य पार्टीलाई ‘कुचो’ लगाइदिएको थियो । आपको चुनाव चिह्न कुचो हो ।

अब त्यही नाराले आपलाई पञ्जावमा पनि सफलता दिलाएको छ । पञ्जावमा आपले यसअघिको विधानसभा चुनावमा पनि प्रतिस्पर्धा गरेको थियो । र, १७ सिटमा जित हात पारेको थियो । २०१९ मा भएको आमनिर्वाचनमा आपले लोकसभामा चार सिट पञ्जावबाटै जितेको थियो ।

योपटक केजरिवालले मुख्यमन्त्रीको उम्मेदवार चयन गर्दा पब्लिक च्वाइसलाई ध्यान दिए । आपले मुख्यमन्त्रीको सम्भावित उम्मेदवारका लागि सर्वेक्षण गरायो । सर्वेक्षणमा सहभागी ९३ प्रतिशतले जनताले कमेडी कलाकारबाट राजनीतिमा आएका भगवन्त मानलाई भावी मुख्यमन्त्रीका रूपमा मत जाहेर गरे । केजरिवालले जनताको भावनाको कदर गर्दै मानलाई भावी मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरे । नतिजा बिहीबार आउँदा मान मुख्यमन्त्री बन्ने पक्का भयो ।

मानको प्रतिस्पर्धा यसअघिका मुख्यमन्त्री क्याप्टेन अमिन्दर सिंह, कुनै बेलाका भारतका स्टार क्रिकेटर नवजोतसिंह सिद्दु र वर्तमान मुख्यमन्त्री चरणजित चन्नीसँग थियो । मानले यी सबै दिग्गज प्रतिस्पर्धीलाई उछिने ।

पञ्जावको मुख्यमन्त्री बन्न लागेका मान २०११ देखि राजनीतिमा छन् । अहिले पनि उनी लोकसभाका सांसद हुन् । राजनीतिमा आएको ११ वर्षमै उनी मुख्यमन्त्री बन्ने भएका हुन् । २०११ मा पिपुल्स पार्टी अफ पञ्जाव प्र्रवेश गरेका उनी सो पार्टीमा सफल हुन सकेनन् । तर, २०१४ मा उनी आपसँग जोडिए र सोही वर्ष उनी आपको तर्फबाट लोकसभामा विजयी बने ।

तर, २०१७ को विधानसभा चुनावमा उनी सुखविन्दर सिंह बादलसँग पराजित भए । त्यसपछि उनले २०१९ मा मदिरा सेवन नगर्ने बाचा गरे । मदिरा सेवनका कारण उनी निकै आलोचित बनेका थिए । सोही वर्ष उनी फेरि लोकसभा निर्वाचनमा विजयी बने ।  

भगवन्त मान भारतका चर्चित कमेडियन हुन् । विश्वविद्यालयस्तरीय कमेडी प्रतियोगिता जितेपछि उनको कमेडीयात्रा सुरु भएको थियो । उनले कमेडी टेलिभिजन कार्यक्रम पनि बनाएका थिए । उनले बनाएको कमेडी कार्यक्रम ‘जग्गु केन्दा है’ सफल कार्यक्रम हो । २००८ मा मानले ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज प्रतियोगितामा पनि भाग लिएका थिए । यो कार्यक्रमबाट उनको पब्लिसिटी निकै बढेको थियो ।

Categorized in अन्तर्राष्ट्रिय