STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवार पत्रकार र कीर्तिपुरका मेयरबीच छलफल (भिडियोसहित)

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २७, शनिबार

ललेन्द्र शाक्य

कीर्तिपुर – नेवार पत्रकार र कीर्तिपुरका मेयर रमेश महर्जनबीच विविध विषयमा छलफल भएको छ । कीर्तिपुर नगरपालिकाको भवनमा शुक्रबार भएको छलफलमा नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारीहरु उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, केन्द्रीय सचिव सुनिल महर्जन, केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठलगायत नेवाः एफएम १०६.७ का प्रबन्ध निर्देशक वीरेन्द्र विनु शाक्य विविशा, कीर्ति अनलाइनका म्यानेजिङ डाइरेक्टर प्रताप महर्जन र विभिन्न संचार क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति थियो । उक्त छलफल कार्यक्रममा पत्रकारहरुको गुनासोलाई लिएर मेयर महर्जनले नगरपालिकाको आर्थिक बजेट, विकास र रकम रकमान्तर सम्बन्धमा जानकारी दिएका थिए । यसैगरी मेयर महर्जनले कीर्तिपुर नगरपालिकादुने अहिलेसम्म दुई चरणमा गरी ८ हजार परिवारलाई राहत वितरण गरिसकेको र १५ सयभन्दा बढी त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुलाई स्वयं नगरपालिको राहत वितरण गरेको जानकारी पनि दिए । छलफल कार्यक्रममा कीर्तिपुरभित्र बाहिरबाट मानिसहरु आएका छन् वा छैनन् वा आएका भए कस्तो व्यवस्था छ भन्ने पत्रकारहरुको प्रश्नमा मेयर महर्जनले बताए, “हुनत अहिले तराईबाट आएका चारजनालाई कीर्तिपुर नगरपालिकाको क्वारेन्टाइनमा व्यवस्थित रुपमा राखिएको छ । अहिले बाहिरबाट आएका मानिसहरु कसैले थाहा नपाई भित्र भित्र उनीहरुकै जिल्ला पठाउने भइरहेको छ । बाहिरबाट आएकाहरु एक ठाउँबाट अर्को, अर्कोबाट अर्को क्यारेमबोर्डको गट्टी जस्तो नहोस् भनी व्यवस्थित रुपमै उनीहरुलाई आफ्नै ठाउँमा पठाउने भइरहेको छ । यस कार्यमा नगरपालिका सफल पनि भइरहेको छ ।” मेयर महर्जनले कीर्तिपुर नगरपालिकाको नाकाको विषयमा खास त्यति समस्या नै नरहेको जनाउँदै भने, “कीर्तिपुर नगरपालिकामा नाका नै छैन भने पनि हुन्छ । किनभने कीर्तिपुर नगरको सिमाना भन्नु नै दक्षिणकाली र चन्द्रागिरी नगरपालिका हो । दक्षिणकाली र चन्द्रागिरी नगरपालिकाले कडा रुपमा कदम उठाएमा कीर्तिपुर नगरपालिकालाई कुनै समस्या आउने छैन । यसैगरी नाका कडिकडाउ गर्न ती नगरपालिकालाई कीर्तिपुर नगरपालिकाले पनि सहयोग गरिरहेको छ” भन्ने जानकारी दिएका थिए । मेयर महर्जनले लकडाउन झनै लम्बिँदै गएको अवस्थामा कीर्तिपुर नगरका जनसमुदायलाई डर, त्रासमा नभई सचेत र सतर्क भई कोरोना भाइरससँग सामना गर्न अनुरोध गर्दै नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्न आह्वान पनि गरेका थिए । (यहाँ क्लिक गरी भिडियो हेर्नुहोला । भिडियो सौजन्य : नृपेन्द्रलाल श्रेष्ठ)
Categorized in उपत्यका