STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवार एकांकी नाटक प्रतियोगिताबारे छलफल कार्यक्रम

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २५, आइतबार

काठमाडौं– नेपालभाषा साहित्य क्षेत्रमा आजभोलि नाटक लेखन तथा मञ्चन नभइरहेको अवस्थामा नेपालभाषा एकेदमिले नेवार एकांकी नाटक प्रतियोगिता आयोजना गर्न लागेको छ । यस प्रतियोगिताको लागि नाटक विधामा अग्रसर नाटककार, लेखकहरुसँग शुक्रबार (फागुन २३ गते) काठमाडौंको ओमबहालस्थित आलुपालु रष्टुरेन्टमा एउटा छलफल कार्यक्रम गरियो । नेपालभाषा मंकाः खलःका अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठको सभापतित्वमा भएको छलफल कार्यक्रममा नेपालभाषाका साहित्यकारहरुको उपस्थिति थियो । नेपालभाषा एकेदमिका प्राज्ञ शशीकला मानन्धरले संचालन गरेको कार्यक्रममा अर्का प्राज्ञ विजयरत्न असंबरेले स्वागत मन्तव्य दिएका थिए । यसक्रममा असंबरेले नेपालभाषा साहित्य क्षेत्रमा पहिले एकांकी नाटकको बेग्लै स्थान रहेकोमा अहिले यो क्षेत्रमा शून्यता छाएको बताएका थिए । यसैगरी एकेदमिका सदस्यसचिव मल्ल के. सुन्दरले एकांकी नाटक प्रतियोगिता गर्नुपर्न कारण र त्यसको उद्देश्यबारे जानकारी दिएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुनेलाई नगद पुरस्कार पनि रहेको मल्ल के. सुन्दरले जानकारी दिएका थिए । उक्त छलफल कार्यक्रममा सुशील राजोपाध्याय, निर्मल वज्राचार्य, महेशमान डंगोल, पुष्कर माथेमा, मीना वज्राचार्य, पीके श्रेष्ठ, सुरेन्द्र तुलाधर, पवन जोशी, सुरेन्द्र मानन्धर, हृदयप्रसाद मिश्र, उमेश स्थापित, सुरेशकिरण मानन्धर, कृष्ण प्रजापतिलगायतका नाटककार, लेखकहरुले प्रतियोगिताबारे छलफल गरेका थिए । सभाध्यक्ष दुर्गालाल श्रेष्ठले यस प्रतियोगिताले नेपालभाषा नाटक क्षेत्र एक कदम अघि बढ्ने आशा लिएको बताएका थिए ।
Categorized in उपत्यका