STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवार इतिहास, संस्कृति र साहित्यका पाँच पुस्तक एकैसाथ प्रकाशन

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २८, शनिबार

काठमाडौं – अष्टगणेश पब्लिकेशनको आयोजनामा नेवार इतिहास, संस्कृति एवं नेपालभाषाको साहित्य समेटिएका विविध विषयका पाँचवटा पुस्तकहरु शनिबार एक कार्यक्रमबीच विमोचन गरिएका छन् ।

वाङमय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा भएको एक कार्यक्रममा जोशीले पाँचवटै पुस्तकको विमोचन गर्नुभएको थियो । कार्यक्रम सत्यमोहन जोशीकै निवास एवं लोक साहित्य परिषदको नवनिर्मित भवन परिसरमा भएको थियो ।

विमोचित पुस्तकहरुमा सन मानन्धरको ‘नेपालमण्डलको मौलिक जात्रा परम्परा’, मीना बज्राचार्यको ‘नवग्रह’, मोहनदेवी महर्जनको ‘ज्याथा प्रजापति समुदायया पञ्चदान गुथि’, राकेश महर्जनको ‘मल्लकालीन गुथिया धरःपौ’ र भरत महर्जनको ‘नेपालन्यायपाल विधि’ रहेका छन् । ‘नेपालमण्डलको मौलिक जात्रा परम्परा’ नेपाली भाषामा प्रकाशित जात्रा परम्परा विशेष पुस्तक हो भने वज्राचार्यको ‘नवग्रह’ ख्यालः (हास्य नाटक) संग्रह रहेको छ । यसैगरी राकेश र भरत महर्जनद्वयका पुस्तकहरु इतिहास र अभिलेखसँग सम्बन्धित छन् । मल्लकालीन गुथि परम्परा रहेको ‘मल्लकालीन गुथिया धरःपौ’ र मल्लकालीन न्याय एवं कानुनसँग सम्बन्धित ‘नेपाल न्यायपाल विधि’ पुस्तक रहेका छन् । यसैगरी, मोहनदेवी महर्जनको पुस्तक काठमाडौं ज्याथाका प्रजापति समुदाय र उनीहरुको पञ्चदान गुथिसँग सम्बन्धित छ ।

अष्टगणेश पब्लिकेशनका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विमोचित पुस्तकहरुलाई लिएर पत्रकार एवं साहित्यकार विजयरत्न असंबरेले संक्षिप्त जानकारी दिनुभएको थियो । असंबरेले उपप्राध्यापक राजितबहादुर श्रेष्ठले आफ्ना बुवा अष्टबहादुर श्रेष्ठ र आमा गणेशकुमारी श्रेष्ठको नाममा प्रकाशन संस्था खोली एकैपटक पाँचवटा पुस्तक प्रकाशन गर्नु उल्लेखनीय कार्य भएको बताउनुभयो । असंबरेले नेपालभाषाको साहित्य विधामा ख्यालः विधाका प्रथम महिला लेखिकको रुपमा मीना वज्राचार्यको उदय भएको पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रकाशन संस्थाको तर्फबाट उपप्रा. राजितबहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुहुँदै आफ्ना मातापिताको गुणलाई चीरस्मरणीय बनाउने उद्देश्यले भाषा एवं साहित्यको सेवाको भावमा पुस्तकहरु प्रकाशित गरेको बताउनुभयो । श्रेष्ठले सम्भव भएसम्म वर्षैपिच्छे यसैगरी पाँचवटा पुस्तकहरु प्रकाशन गर्दैजाने पनि बताउनुभएको थियो ।

 

Categorized in साहित्य-कला