STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवाः संगीतमा पनि दोहोरी गीतको चलन रहेको दावी

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ कार्तिक १३, शनिबार

ललितपुरको सिद्धिपुरमा आयोजित  नेपालभाषाको दोहोरी गीत ‘वयेगु जुल’ सार्वजनिक गरिएको  एक कार्यक्रमका वक्ताहरुले विगतमा नेवाः समुदायमा प्रचलनमा रहेको दोहोरी गीतको प्रचलन अहिले लोप हुँदै गएको बताए ।

कार्यक्रममा नेपालभाषाको दोहोरी गीत ‘वयेगु जुल’ सार्वजनिक गरिएको थियो ।  यसलाई जुहारी म्ये भनिने कुरा सो कार्यक्रमका  वक्ताहरुले प्रकाश पारेका थिए ।  गायक अनिल महर्जन र गायिका सरस्वती महर्जनबाट स्वरबद्ध गीतको म्यूजिक भिडियो सन्त निरंकारी मण्डल नेपालका उपाध्यक्ष कृष्ण बहादुर पन्थले सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा बोल्दै गीतका संगीत संयोजक निरन्जन महर्जनले  नेपालभाषाको परम्परागत दोहोरी गीतमा संगीत संयोजन गर्न पाउँदा खुसी लागेको बताउँदै यस गीतसँगै नेवाः समुदायमा दोहोरी गीतको परम्पराको पुनः थालनी हुने आशा व्यक्त गर्नुभयो ।

वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर असंबरेले प्रतिफलको आश नगरी लागेका  नेवार कलाकर्मीहरुको कला क्षेत्रमा निरन्तरताको प्रशंसा गर्नुभयो ।

नेवाः फिल्म सोसाइटीका अध्यक्ष बिराजकाजी राजोपाध्यायले उद्योगी व्यापारी वर्गले आफ्नो वार्षिक नाफाको केही प्रतिशत नेवाः कला क्षेत्रको लागि भनेर छुट्याउन सके यस क्षेत्रको उत्थानको लागि ठुलो सहयोग हुने सुझाव राख्नुभयो ।

शुभकामना मन्तव्यको क्रममा बोल्दै महालक्ष्मी नगरपालिका वडा ६ का वडाध्यक्ष वासुदेव महर्जनले वडाबाट सिद्धिपुरको मूध्वाखा बनाउने काम भइरहेको र नेवाः संग्रहालय बनाउन गृहकार्य भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा म्यूजिक भिडियोकी एक मोडल हिसिला महर्जन, सिनेमाटोग्राफर, दृश्य सम्पादक र निर्देशक लुःजः सिंहलगायतले आआफ्नो अनुभव सुनाएका थिए ।

सार्वजनिक गरिएको गीतमा शब्द संयोजन अनिल महर्जनको रहेको छ भने यूजिक भिडियोमा हिसिलाको साथमा मणिराज लवट, कृषा श्रेष्ठ, अनुप श्रेष्ठले पनि अभिनय गरेका छन् । म्यूजिक भिडियो हाइलाइट्स नेवार युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Categorized in साहित्य-कला