नेपाललाई विश्वसामु चिनाउने साहित्य, सङ्गीत र कला होः राष्ट्रपति
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २५, बुधबार
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई विश्वसामु चिनाउने विधा साहित्य, सङ्गीत र कला नै भएको बताउनुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्धारा आज राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७५’ समारोहमा उहाँले मुलुकलाई विश्वसामु चिनाउने महत्वपूर्ण माध्यम साहित्य सिर्जना भएको बताउनुभयो ।
“नेपाल साङ्गीतिक विविधताबीच प्राकृतिक वैभव र सुन्दरताले सुसम्पन्न देश हो, विश्वप्रसिद्ध सम्पदाहरुले सुशोभित यो मुलुक साहित्य, सङ्गीत र कला सिर्जनाका लागि उर्वरभूमि हो”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “देशका मौलिक सांस्कृतिक सम्पदा एवम् प्राकृतिक धरोहरलाई विश्वसामु चिनाउने साहित्य सिर्जना एउटा महत्वपूर्ण माध्यम हो, साहित्य र कलाका विविध फाँटमा संलग्न प्रतिभा र सर्जकलाई प्रोत्साहन गर्न सम्बन्धित पक्ष सधँै अग्रसर हुनुपर्छ ।”
उहाँले नेपाली साहित्यका उत्कृष्ट कृतिलाई नेपाली भाषाका अतिरिक्त अन्तरराष्ट्रिय भाषामा अनुवाद गरेर विश्वसामु पस्कन सकेमा नेपाली कृतिले विश्वव्यापी स्थान पाउने विचार व्यक्त गर्नुभयो ।
समृद्ध सभ्यताको प्रतीक तथा अमूल्य निधिका रुपमा रहेका लोकसाहित्य तथा संस्कृति, मौलिक शास्त्रीय सङ्गीत संरक्षण र सम्वद्र्धनका लागि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
राष्ट्रपति भण्डारीले विद्यालय तहदेखि नै सङ्गीत तथा नाटक विधालाई एउटा रचनात्मक क्रियाकलापको विधा बनाउने सके विद्यार्थीको बौद्धिक विकास तथा कला प्रस्फुटनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
छ सष्टा सम्मानित
सो अवसरमा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७५ बाट विभिन्न विधाका छ स्रष्टा सम्मानित हुनुभएको छ । नाट्य विधामा वरिष्ठ नाटककार तथा निर्देशक श्यामदास वैष्णव एवं वरिष्ठ गायन तथा सङ्गीत विधामा वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधान पुरस्कृत हुनुभएको छ ।
त्यसैगरी परम्परागत तथा शास्त्रीय सङ्गीत विधामा वरिष्ठ सङ्गीत साधक जगदेव कामत, रङ्गमञ्च अभिनय विधामा वरिष्ठ रङ्गकर्मी ओममणि शर्मा, नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक हनी श्रेष्ठ र लोकसङ्गीत विधामा वरिष्ठ लोकगीत सङ्कलक एवम् वाद्यवादक प्रेमदेव गिरी सम्मानित हुनुभयो । राष्ट्रपति भण्डारीले जनही रु एक लाख एक र ताम्रपत्रद्धारा उहाँहरुलाई पुरस्कृत स्रष्टाहरुलाई प्रदान गर्नुभयो ।
प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ ले सबै सष्टाले देश र जनताको सिर्जनाप्रति गौरवान्वित महसुस हुने गरी काम गर्न सकून् भनी शुभेच्छा प्रकट गर्नुभयो ।
Categorized in राष्ट्रिय