
नेपालभाषाका शिक्षक संगठित हुन ‘नेपालभाषा स्यनामि दबू’
Janjati Khabar – जनजातिखबर संवाददाता | २०८१ माघ ६, आइतबार

काठमाडौं – स्थानीय विषय अन्तर्गत काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयहरुमा नेपालभाषा विषय पढाइरहेका नेपालभाषा प्रशिक्षण सहायकहरुको संगठन ‘नेपालभाषा स्यनामि दबू’ गठन भएको छ ।
नेवाः देय् दबूअन्तर्गत नेपालभाषाका शिक्षकहरुको पेशागत समूहअन्तर्गत रितेश मल्लया अध्यक्षतामा स्यनामि दबूको गठन गरिएको हो ।
काठमाडौंको भानु मा.वि.मा माघ ६ गते आइतबार नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र वज्राचार्यको प्रमुख आतिथ्यमा दबूको गठन गरिएको थियो ।
नवगठित दबूका उपाध्यक्ष सविना महर्जन, मुख्यसचिव राकेश महर्जन, सचिव सुष्मा डंगोल, मुख्य कोषाध्यक्ष मिला शाक्य र कोषाध्यक्ष अनिल महर्जन रहेका छन् । यसैगरी सदस्यहरुमा राम महर्जन, राजेन्द्र महर्जन, रजनी महर्जन, साजना महर्जन, लसता सिं, उर्मिला महर्जन, अनिता शाक्य, ओमकृष्ण श्रेष्ठ, राजु कपाली, सरिता मालाकार, राजेन्द्रलाल महर्जन र राधेश्याम महर्जन रहेका छन् ।
नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई नेवाः देय् दबूले एक कार्यक्रमको आयोजना गरी स्वागत एवं शपथ ग्रहण गराउने जनाइएको छ ।
हालको लागि यस दबूमा काठमाडौं मनपा अन्तर्गत नेपालभाषा प्रशिक्षण सहायकहरु समावेश रहे पनि यसमा ललितपुर, कीर्तिपुर र तोखा नगरपालिकाका नेपालभाषाका शिक्षकहरुलाई पनि समावेश गर्दै नेपालभाषा शिक्षकहरुको संयुक्त संगठनको रुपमा लाने योजना रहेको नवगठित दबूका अध्यक्ष रितेश मल्लले जानकारी दिनुभयो ।