STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेकपा विप्लवको फागुन ३० गतेको बन्द सफल होला त !

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३०, बिहिबार

अब के के होला त विप्लव आन्दोलन ?

केही दिन अघि मात्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ‘लुटेरा पार्टी’को संज्ञा दिएपछि लगतै विप्लव नेतृत्व नेकपाका महासचिव विप्लवको हस्ताक्षरमार्फत फागुन २४ गते एक विज्ञप्ति सार्वजनिक गर्दै फागुन ३० गते बिहिबार आमहड्ताल संगै नेपाल बन्दको घोषणा गरेको छ ।

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति सार्वजनिक गरी आफ्नो पार्टी नेता कार्यकर्ता गिरफ्तारी, झूठा मुद्दा, कपिलवस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलवस्तु र कालिकोट लगायत अन्य जिल्लामा भएको अप्रेशनको विरुद्ध फागुन ३० गते बिहिबार आमहड्तालसंगै नेपालबन्दको आह्वान गरेको हो ।

विप्लव नेकपाले फागुन २४ गते शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “प्रचण्ड सरकारले केही समय अघिदेखि देशभर फासिष्ट दमन अभियानलाई तीब्र पारेको छ । दमनको क्रममा २३ गते बिहान ५ बजे कपिलबस्तु शिवराज नगरपालिका वडा नम्बर ९ को अंचलपुरका युवा दुर्गाबहादुर रोकालाई घरबाटै गिरफ्तार गरी चौकीमा लगिएको र फेरि सुन्दरीडाँडा जंगलमा लगी गोली हानी घाइते बनाएको छ भने देशभरबाट केन्द्रीय सदस्य बन्धु चन्द, किसान संगठनका अध्यक्ष राजु कार्कीसहित सयौं नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।”

त्यस्तै, विज्ञप्तिमा गाउँ गाउँमा संकटकालको स्थिति सिर्जना हुने गरी छापा मारेको, यातना दिएको साथै झूठा मुद्दा लगाइएको काम गरेका छन् भनी उल्लेख गरेको छ भने उक्त विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टी उक्त रक्तपिपाशु दमनको घारे भत्सर्ना गर्दछ । साथै घाइते भएका युवा दुर्गा रोकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।”

विज्ञप्तिमा उक्त सम्पूर्ण राज्य आतंक, दमन, गोलीकाण्ड, गिरफ्तारी, झूठा मुद्दाप्रति सम्पूर्ण राजनीतिक शक्ति, मानवअधिकार, नागरिक समाज, बुद्धिजीवीको ध्यान जाओस् भनी आग्रह गर्दछ भनी उल्लेख गरिएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले यस अघि पनि थुप्रै बन्दका कार्यक्रमहरु घोषणा गरिसकेको छ भने ती बन्दहरु प्रायः सफल नभएको राजनीतिमा रुचि राख्ने व्यक्तित्वहरुले ठहर गरेका थिए । आम जनसमुदायहरुलाई पहिलेका बन्दले त्यति असर नपारेको कुराहरु अहिले चर्चामा आइरहेका छन् । किनकि, त्यो बेला विप्लव नेतृत्व नेकपा सक्रिय रुपमा त्यति परिचालित नभएर हो कि ती विगतका आन्दोलित बन्दहरु पूर्ण रुपमा सफल नभएको ।

अब, आजका दिनमा विप्लव नेतृत्व नेकपा सक्रिय रुपमा बाहिरिएको छ । केहि हप्ता अगाडि मात्र ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम बिस्फोटको घटनालाई लिऔं । केही दिन अघि मात्र काठमाडौंको बसुन्धरा स्थित म्यानपावरका रोहन गुरुङको घरको ग्यारेजमा भएका बम बिस्फोटका घटनालाई लिऔं । यस्तै काठमाडौंकै स्यूचाटारमा शंकास्पद प्रेसरकुकर बम जस्तो देखिने बस्तु राखिएको घटनालाई लिऔं । यसबाट प्रष्ट हुन्छ कि अब विप्लव नेतृत्व नेकपा पूर्णरुपमा आन्दोलित भइसकेको छ । विप्लव नेतृत्व नेकपाले फेरि पनि जनयुद्धको थालनीको श्रीगणेश गरिसकेको छ भन्ने आभाष जनमानसमा फिजिसकेको छ । काठमाडौं उपत्यका बाहिर त सरकारले विप्लव समूहका नेता कार्यकर्ताहरुलाई ‘अप्रेशन’ नै गरी गिरफ्तार गर्ने कार्यको शुभारम्भ गरेको छ भने विप्लव नेकपा आन्दोलनमा उत्रिसकेको छ भन्ने पक्षमा जनता छन् ।

कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई ‘तँ त चोर होस्’ भनी भन्दा ती व्यक्तिको रिस आगो हुने त स्वयंसिद्ध तथ्य नै भो । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेकपा पार्टी त ‘लुटेरा पार्टी’ भनेपछि विप्लव समूहको रिस आगो नहुने त कुरै छैन । यसकै प्रतिफल हो फागुन ३० गते बिहिबार घोषणा गरेको आमहड्ताल र नेपाल बन्द ।

यी घटना र परिघटनाका कारण अब हुने नेपाल बन्द असफल होला एवं पूर्ण रुपमा सफल हुँदैन भन्न सकिने अवस्था अब नरहेको सचेत जनसमुदायहरुको टिका–टिप्पणी छ ।

अधिकारकर्मीहरु भन्ने गर्छन् कि बन्दकर्ताको बन्दले राज्य पक्षलाई दबाब दिने एक माध्यम त हो तर मारको भोगाई सर्वसाधारणले खेप्नु पर्ने स्थिति नेपालमा भइरहेको छ । अबको परिस्थिति भनेको सरकारलाई दबाब बन्दले हैन ‘टेबुल टक’बाट मात्र सम्भव छ । सत्तामा रहेको सरकार र बन्दकर्ताले यसमा पनि ध्यान दिनु अहिलेको परिस्थितिको प्रमुख आवश्यक कदमको रुपमा रहेको अधिकारकर्मीहरु भन्ने गर्छन् ।

देश आर्थिक विकास र समृद्धिको बाटोमा गइरहेको सरकार पक्षको भनाई छ, आन्दोलनरत् समूह देश लुटतन्त्रमा धकेलिएको तथा देश कंगाल भइसकेको अवस्था छ भन्ने पक्षमा आन्दोलित छन् । यसको समाधान स्वयं सरकार र आन्दोलनरत पक्ष वार्तामा बसी समाधान गर्नुपर्ने अहिलेको औचित्यको विषय बनेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको हालको आन्दोलन र बन्दको परिवेशमा जनमानस भित्र अब देशमा के होला ? फेरि जनयुद्धको थालनी होला कि ? भन्ने त्रासमा मानसिकता धकेलिरहेको छ । जनताहरु देश फेरि पनि अँध्यारो परिबेशमा बस्न नपरोस् भन्ने अपेक्षामा आशावादी छन् ।

Categorized in विचार