STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निर्देशक समाजको साधारणसभामा हेम लामालाई लाइफटाइम सम्मान

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र २३, सोमबार

नेपाल चलचित्र निर्देशक समाजले आईतबार काठमाडौंमा एउटा भव्य समारोह बीच  चलचित्र "आदर्श नारी"का निर्देशक तथा निर्माता हेमबहादुर लामालाई लाइफटाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरेको छ ।

चलचित्र विकास बोर्डमा आयोजित निर्देशक समाजको १३ औं साधारण सभामा ९४ वर्षीय लामासँगै अन्य निर्देशकलाई पनि सम्मान गरिएको छ ।

शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाको उदघाटन समारोहमा चलचित्र निर्देशकहरु युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी तथा नारायण पूरीलाई चलचित्र सर्जक सम्मान गरिएको थियो ।

समारोहमा युवा चलचित्र निर्देशक सम्मानमार्फत निर्देशक ऋषि लामिछाने तथा लोकप्रिय निर्देशक सम्मान दीपाश्री निरौलालाई प्रदान गरियो ।

लाइभफटाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित निर्देशक हेमबहादुर लामाले नीजि क्षेत्रबाट चलचित्र बन्न थालेपछि ‘आदर्श नारी’ को निर्माण तथा निर्देशन गरेका थिए ।

यो फिल्मले थुप्रै जना कलाकार, गायक, गायिका तथा संगीतकारलाई समेत पहिलो ब्रेक दिएको थियो ।

अभिनेता विजय लामाले यही फिल्मबाट डेब्यू गरेका थिए भने अभिनेत्री सन्नी रौनियार, हनी रौनियार, अंशुमाला शाही, कलाकार उज्ज्वल घिमिरे, मोहन निरौला, संगीतकार मदन परियारले यही फिल्मबाट ब्रेक पाएका थिए ।

आदर्श नारीमा लामाकै कथा, पटकथा तथा संवाद पनि थियो ।

बुबा हेमबहादुरले दीर्घकालीन सम्मान प्राप्त गर्दा कलाकार तथा वरिष्ठ क्याप्टेन विजय लामा भावुक बनेका थिए ।

‘चलचित्र जगतले हेम लामा को हो भनेर बिर्सिसकेको थियो । कहिल्यै पनि कुनै फिल्मको कार्यक्रममा उहाँलाई निमन्त्रणा आएको मलाई थाहा छैन’, विजय लामाले आफूलाई ती कार्यक्रममा निमन्त्रणा आउँदा पनि उनी नजाने गरेको बताए ।

समारोहमा समाजको विगतदेखि वर्तमानसम्मको वृत्तचित्र प्रदर्शन गरेर कार्यक्रमको सुरुवात गरिएको थियो भने स्रष्टाहरुलाई रेडकार्पेटमा स्वागत गरिएको थियो ।

समारोहमा निर्देशक समाजले अक्षयकोषको समेत घोषणा गरेको छ ।

आफूले अक्षयकोषमा सहयोग गर्न नपाएकोमा दुखी हुँदै वरिष्ठ निर्देशक नीर शाहले फिल्मकर्मी अझै व्यवसायिक बन्न नसकेको धारणा व्यक्त गरे ।

निकै व्यवस्थित र साजसज्जा सहित आयोजना गरिएको उक्त कार्यक्रममा निर्देशक समाजको सदस्यहरुलाई अबदेखि सदस्यता लिने बित्तिकै दुर्घटना बिमा हुने कार्यक्रमको घोषणा गरिएको थियो ।

समारोहमा चलचित्र निर्देशनभन्दा बाहिरको विधामा पनि सफलता हासिल गरिरहनु भएको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पशुपति क्षेत्र विकास कोषका अध्यक्ष डा.घनश्याम खतिवडा तथा कान्तिपुर टेलिभिजन तथा रेडियो कान्तिपुरका स्टेशन मेनेजर दिनेश डिसीलाई दोसल्ला ओढाएर  बधाइ  ज्ञापन गरिएको थियो ।

कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान र उपमहासचिव गोपालकाजी कायस्थ , कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला र महासचिव समिर बलामि, अादिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनवार लगायतका थुप्रै अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Categorized in सिनेमा