STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

निफमा ‘शाम्बाला’ ओपनिङ फिल्म र ‘रसियन फिल्म डे’ हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र ६, बुधबार

काठमाडौं -  नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को आठौं संस्करणको चैत ७ देखि ११ गतेसम्म आयोजना हुने गरी तयारी पुरा भएको छ । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । यसपटक निफको निर्णायक मण्डलमा छोटा चलचित्र तथा वृत्तचित्रतर्फ प्रमुख जुरीमा निर्देशक दीपेन्द्र गौचन र चलचित्रतर्फ अभिनेत्री सुरक्षा पन्त, निर्देशक सम्पादक रक्षा सिंह राणा चलचित्र समीक्षक सम्पादक रीता दत्ता, निर्देशक लिउ जियान र कलाकार जमल शाहलगायत रहेका छन् ।

महोत्सवमा कुनै एउटा देशको चलचित्रलाई विशेष प्रदर्शन गर्ने योजनाअनुसार यस वर्ष महोत्सवको तेस्रो दिन शनिबार ‘रसियन फिल्म डे’ को पनि आयोजना गरिने नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । महोत्सव अन्तर्गत नै आगामी शनिबार आयोजना हुने उक्त फिल्म डे मा रसियाको तीन वटा चलचित्र प्रदर्शन गरिनेछ । यसपटक महोत्सवमा ३ वटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप पनि गरिएको छ । अडियन्स च्वाइस अवार्डका लागि चैत्र ७ गतेदेखि ११ गते दिनको ४ बजेसम्म खल्ती एपबाट भोटिङ गर्न सकिने व्यवस्था गरिएको आयोजकले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

बिहीबार क्युएफएक्स सिभिल मलमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यमा उद्घाटन हुने महोत्सवको पहिलो दिन मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ प्रदर्शन हुनेछ । अन्तिम दिन अर्थात् चैत्र ११ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबाट समापन हुनेछ । ‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको छ’, आयोजकले अगाडि छ, ‘महोत्सवमा देखाइने चलचित्रहरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् ।’ प्रविधिमा आएको विकासलाई आत्मसात् गर्दै र दर्शकलाई नयाँ स्वाद दिन यो संस्करणदेखि एआईबाट बनाइएको वा सोसम्बन्धी विषयमा बनेका चलचित्रको प्रतिस्पर्धा पनि हुने उल्लेख छ ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिने जनाइएको छ ।एआई चलचित्रलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०÷५० हजार नगद र ट्रफी प्रदान गरिनेछ । महोत्सवमा सहभागी हुन ५० बढी अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरू नेपाल आउने क्रम सुरु भइसकेको आयोजक संस्थाका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

Categorized in सिनेमा