STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निफकाे नवाैं संस्करण इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र १९, बिहिबार

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयाेजित  नवौं स‌ंस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा बिहीबारबाट सुरु भएको छ । चैत २३ सम्म पाँच दिन चल्ने  निफमा हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शन गर्दै निफ सुरू गरिएको हो । 

सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा भएको उद्घाटन समारोहमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रुपमा उपस्थित थिइन् । 

उक्त समारोहमा नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोग, नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हास्मी, नेपालका लागि श्रीलंकाका राजदूत रुवन्थी डेलपिटिया, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र भारतीय निर्देशक तथा निर्माता रमेश सिप्पी विशेष अतिथिका रुपमा उपस्थित थिए । 

नेपालको पहिलो रंगिन फिल्म ‘कुमारी’का निर्देशक प्रेम बस्नेत, वरिष्ठ नायिका चैत्यदेवी सिंह निर्देशक समुद्र रेग्मीलगायतका चलचित्रकर्मी कार्यक्रममा अतिथिका रुपमा सहभागी भएका थिए । 

प्रमुख अतिथि सचिव बस्नेतले निफले नेपाली फिल्मको बजार र अन्य चलचित्र उद्योगसँग सम्बन्ध विस्तारमा सहयोग पुग्ने आशा व्यक्त गरिन् । 

ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोगले निफलाई सफलताको शुभकामना दिए । उनले आफ्नो देशबाट छनोटमा परेका फिल्मको कथाबारे पनि चर्चा गरेका थिए । 

पाकिस्तानी राजदूत अब्रार एच हास्मीले निफलाई सफलताको शुभकामना दिँदै आफू यस महोत्सवमा तेस्रो पटक सहभागी भएको बताए । 

बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पीले एआईको वर्तमान समयमा चलचित्र महोत्सवबारे महत्त्वबारे बोलेका थिए । 

निफका अध्यक्ष केपी पाठकले निम्तो स्वीकार गरी कार्यक्रममा उपस्थित हुने सबै अतिथि, चलचित्रकर्मी र पत्रकारप्रति कृतज्ञता व्यक्त गरे । 

निफमा ४० देशका ८८ वटा फिल्महरू प्रदर्शन गरिने तय भएको छ । ६ वटा चिनियाँ र ४ वटा रुसी फिल्म प्रतिस्पर्धाबाहिर रहेर विशेष प्रदर्शन गरिने आयोजकले बताएको छ । 

रसियन हाउसमा रसियन फिल्म डेज आयोजना गरिनेछ । अन्य दिन पनि यस स्थानमा प्रदर्शन हुने फिल्महरु निशुल्क हेर्न पाइनेछ । 

यसपटक निफमा सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ । जस अन्तर्गत ६ वटा चिनियाँ सिनेमा र वृत्तचित्र प्रदर्शन गरिनेछ । पर्यटन बोर्ड र छायाँ सेन्टरमा यी फिल्महरू निशुल्क हेर्न पाइनेछ । प्रतिस्पर्धामा रहेका मध्येका फिल्महरु सिभिल मल र छाया सेन्टरमा भने सशुल्क प्रदर्शन हुनेछ । निफ अन्तर्गत १० वटा अन्तर्क्रियात्मक कार्यकम राखिएको छ । जसमा विभिन्न देशका मेकरहरुले ‌आफ्नो अनुभव सेयर गर्नेछन् ।

Categorized in सिनेमा