STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निःशुल्क आँखा शल्यक्रिया शिविर

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २५, सोमबार

दिक्तेलस्थित जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा ८२९ को उपचार गरिएको छ । नेत्रज्योति सङ्घ खोटाङको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा चैत २२, २३ र २४ गते तीनदिने शिविर सञ्चालन गरिएको हो । शिविरमा आँखा अस्पताल लहानका शल्य चिकित्सक डा अभिषेक सहदेवको नेतृत्वमा आएको १४ स्वास्थ्यकर्मीको टोलीले ९५ को शल्यक्रिया गरेको सङ्घका सभापति इन्द्र कसजुले जानकारी दिनुभयो । शल्यक्रिया गराउने अधिकांश आँखारोगी वृद्धवृद्धा रहेको जनाइएको छ । शिविरमा आएका ज्येष्ठ नागरिक र शल्यक्रिया गराएका आँखाका बिरामीलाई निःशुल्क दृष्टि चश्मा वितरण गरिएको थियो । उपचारमा आएका अधिकांशलाई औषधिसमेत निःशुल्क वितरण गरिएको जनाइएको छ । शिविरमा आएका जटिल किसिमका बिरामीलाई खान र बस्नको व्यवस्थासमेत आयोजकले मिलाएको थियो । लामो समयदेखि उपचार अभावमा दृष्टि गुमाएर बसेका आँखाका रोगीले पुनःदृष्टि पाएपछि हर्षित भएका छन् । अरुको सहारामा शिविर सञ्चालन भएको स्थानमा पुगेर उपचार गराएका अधिकांश आँखाका बिरामी शल्यक्रियापछि आफैँ हिँडेर घर फर्किएका छन् । उनीहरुले लामो समयदेखि आफ्नो गुमेको दृष्टि पुनः फर्काइदिएकामा आयोजक तथा शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् । स्ट्रेचरमा बोकाएर शिविर पु¥याइएकी खाल्लेकी ७६ वर्षीया जानुका सुजीकार शल्यक्रियापछि आफैँ हिँडेर घर फर्कनुभएको छोरा प्रकाशले बताउनुभयो । “आमाको आँखामा विसं २०६६ देखि समस्या देखिएको थियो”, उहाँले भन्नुभयो, “पछिल्लो चार महीना त दुवै आँखा पूरै बन्द भएको थियो । अहिले शल्यक्रिया गरेपछि दुवै आँखाले राम्ररी देख्न सक्नुहुन्छ । उहाँ आफै हिँडेर घर फर्कनुभयो ।” सङ्घले यसअघि यही चैत १९ र २० गते केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा पनि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरेको थियो । बाक्सिलामा आयोजना गरिएको शिविरमा ६३ को शल्यक्रियासहित ५१४ को उपचार गरिएको थियो । जिल्लामा लामो समयदेखि क्रियाशील नेत्रज्योति सङ्घले यही चैत २६ र २७ गते हलेसीमा पनि निःशुल्क आँखा शल्यक्रिया शिविरको आयोजना गर्नेभएको छ । जिल्लाका हरेक भेगका नागरिकलाई आफ्नै ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यले यस वर्ष जिल्लाको तीन ठाउँमा शिविर राखिएको सभापति कसजुले बताउनुभयो ।
Categorized in राष्ट्रिय