STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त, दलको नेता पनि हेरफेर

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २६, सोमबार

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन्।

सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना निकालेको हो।

सोमबार निकालिएको सूचनामा भनिएको छ, ‘प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवालयमा पेस भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

सरकारलाई लिएर आन्तरिक विवादमा फसेको नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले गिरीलाई फिर्ता बोलाएको पत्र सभामुखलाई पठाएकी थिइन्।

समानुपातिक सांसद गिरी कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री भएकी थिइन्। संरक्षक रेशम चौधरी पक्षको जोडबलमा गिरीसहित नाउपाका ५ प्रदेश सांसद शाह सरकारमा मन्त्री भएका थिए ।

तर एमाले–माओवादी गठबन्धनको पक्षमा रहेकी अध्यक्ष रञ्जिताले सरकारबाट फिर्ता हुन निर्देशन दिइन्। आफ्नो निर्देशन पालना नगरेको भन्दै श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाउने पत्र प्रदेश सभा सचिवालयलाई पठाएकी हुन्। 

दलको नेताबाट घनश्यामलाई हटाएर कैलाशलाई जिम्मेवारी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीको जिम्मेवारी खोसेकी छन्।

श्रेष्ठले सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै घनश्यामको जिम्मेवारी खोसेर कैलाश चौधरीलाई जिम्मेवारी दिइएको उल्लेख गरेकी छन्।

‘प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई दलको नेताको रूपमा दैनिक सभा सञ्चालनका लागि सहमति भएकोमा निजले दलको निर्देशन पालन नगरेका कारण परिवर्तन गर्ने निर्णय गरिएको छ,’ रञ्जिताले लेखेको पत्रमा भनिएको छ, ‘दलको विधान तयार नभएका कारण हाललाई दलको केन्द्रीय बैठकको निर्णयअनुसार माननीय सदस्य कैलाश चौधरीलाई संसदीय दलको नेताको हैसियतमा काम गर्न निर्णय भएको व्यहोरा अनुरोध गर्दछु।’

Categorized in राजनीति