STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नइ पुरस्कार आठजनालाई र त्रिमुर्ति पुरस्कार तीनजनालाई

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ बैशाख ३०, शुक्रबार

साहित्य,कला संस्कृति र  वाङमय क्षेत्रमा विशेष स्थान बनाउन सफल त्रिमुर्ति निकेतन र नइ प्रकाशनले हरेक वर्ष झैं यो वर्ष पनि विभिन्न पुरस्कारहरु प्रदान गर्ने घोषणा गरेको छ । जस अनुसार नइ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी अहोरात्र शिक्षासेवामा समर्पित शिक्षाविद् डा.सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने भएको छ ।

त्यसैगरी सनातन हिन्दूधर्म, संस्कृतिको संवर्द्धन, संरक्षण तथा जागरणका लागि मन, वचन र कर्मबाट क्रियाशील प्रा.डा.माधव भट्टराईलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको छ ।

साथै नेपालको स्वाभिमान, राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन र प्रचारमा सदैव समर्पित भई मातृभूमिप्रति गरेको विशिष्ट योगदानका निम्ति श्री भैरव रिसाललार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरिने भएको छ ।

सामाजिक जागरण र जनचेतनाका लागि हास्य र व्यङ्य मार्फत देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन उद्यत जनमनका प्रिय कलाकार श्री सन्तोष पन्तलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने भएको छ ।

नेपाली समालोचनाको परम्परालाई गतिशील, समृद्ध र उन्नत तुल्याउने ऐतिहासिक योगदान गरेबापत प्रा.डा.दयाराम श्रेष्ठलाई ‘नइ ईश्वर बराल पुरस्कार’ समर्पण गरिने भएको छ ।

स्वास्थ्य विज्ञानमा मन, वचन र कर्मले समर्पित रहँदै नेपालमा टेष्टट्युव चिकित्साको गुरुतर भूमिका, सफल प्रयोग र अनुकरणीय योगदानका लागि डा.भोला रिजाललाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिने भएको छ ।

गीतिकविता लेखनका माध्यमबाट नेपाली भाषालाई जनप्रिय बनाई जनमन छुन सफल प्रेमविनोद नन्दनलाई ‘नइ कोइलीदेवी पुरस्कार’ समर्पण गरिने भएको छ ।

साथै मैथिली तथा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याई नेपाली राष्ट्रिय एकताको सुदृढीकरणका निम्ति उल्लेखनीय भूमिका खेलेवापत डा.रामदयाल राकेशलाई ‘नइ भाजप पुरस्कार’ समर्पण गरिने भएको छ ।

ताम्रपत्र सहित यी आठै वटा पुरस्कार जनही एक लाख रूपियाँ राशिका रहेका छन् ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निणर्य गरेको संस्थाका सदस्यसचिव  नरेन्द्रराज प्रसाईले जानकारी गराउनु भएको हो ।     

यस्तै गरी त्रिमूर्ति निकेतनले २०७८ सालको ‘लेखनाथ काव्य पुरस्कार’ छन्दकवि तथा महाकाव्यकार श्री गोविन्दराज विनोदीलाई समर्पण गर्ने निर्णय गरेको छ । यसैगरी यस वर्षको ‘बालकृष्ण सम पुरस्कार’ नाटक तथा चलचित्रकी जनप्रिय अभिनेत्री श्रीमती मिथिला शर्मालाई समर्पण गर्ने निर्णय गरेको छ ।

‘देवकोटा काव्य पुरस्कार’ आधुनिक कवि शैलेन्द्र साकारलाई समर्पण गर्नेबारे निकेतनको पूर्व बैठकबाट निर्णय भैसकेको छ ।

ताम्रपत्रका साथ यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपियाँ रहेका छन् ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको निकेतनको सभाले सो निर्णय गरेको कुरा सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी गराउनु भएको छ ।

Categorized in साहित्य-कला