STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता विषयमा बृहत अन्तर्क्रिया सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण १४, आइतबार

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूको समन्वय तथा प्रेस काउन्सिल नेपालको आयोजनामा  ‘धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता’ विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिलको हलमा शुक्रबार सम्पन्न कार्यक्रममा बोल्दै सहभागीहरुले मातृभाषा पत्रकारिता विकासका लागि प्रेस काउन्सिल, नेपाल आदिबासी पत्रकार महासंघ फोनिज का साथै मातृभाषी पत्रकारहरुको संघसंस्थाहरु एकजुट भइ अगाडि बढ्नु पर्ने बताए । 

सो कार्यक्रममा पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य र नेपाल पत्रकार महासंघया संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको तस्बिरमा मालार्पण गरि शुरु गरिएको थियो । 

कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले भाषा संरक्षणको लागि मातृभाषा पत्रकारिता र सञ्चार माध्यमको विशेष भूमिका रहने बताउँदै मातृभाषा पत्रकारिका विकासको लागि राज्यस्तरबाट सहयोग जुटाउन काउन्सिलले भूमिका खेल्नु पर्ने बताए । त्यस्तै उनले काउन्सिले मातृभाषी सञ्चार माध्यमलाई मात्र हेर्न अलग्गै विभाग खडा गरेर काम गर्नुपर्ने पनि सुझाए ।

उनले कुनै एउटा भाषा मर्नु भनेको त्यससँगै एउटा इतिहास, संस्कृति, परम्परा, सम्पदा पनि मर्ने बिचार राख्दै भने, ‘मान्छे मरे सबै छोडेर जान्छन्, तर एउटा भाषा मरे त्यसले छोडेर जाने होइन, धेरै कुरा लिएर जान्छ । एउटा भाषा नाश भयो भने त्यस्ले एउटा इतिहास, त्यस भाषाका भित्र रहेका संस्कृति, परम्परा, सम्पदा सबैलाई लिएर जान्छ । त्यसैले भाषालाई बचाइ राख्नु राज्यको नै कर्तव्य हो ।’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषा पत्रकारिता विकासका लागि सहजीकरण गर्न काउन्सिल तयार रहेको बताए । अन्तक्र्रियामा प्रमुख अतिथिको रुपमा बोल्दै उनले भने, ‘कुनै एक भाषामा मात्र काम गरेर काउन्सिलको दायित्व पूरा हुँदैन, सबै भाषाभाषीको पत्रकारितालाई एउटै मालामा उनेर काउन्सिल अगाडि बढ्छ ।’ 

कार्यक्रममा बोल्दै उनले मातृभाषाका पहिलो पत्रकार धर्मादित्य धर्माचार्यलाई राज्यस्तरबाट नै मान्यता दिलाउन तथा सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघका संस्थापकका रुपमा मान्यता दिलाउन पनि प्रेस काउन्सिलले सहजीकरण गर्ने बताए । 

नेपाल आदिबासी जनजाति पत्रकार महासंघका  उपाध्यक्ष अमरध्वज लामाले मातृभाषालाई राष्ट्रियता, राष्ट्रिय गौरब, ब्यापार, स्वास्थ्यसँग जोड्दै संविधानबाट नै मातृभाषीको हक अधिकारबारे सम्बोधन गरेको हुँदा राज्यले संविधानमात्र कार्यान्वयन गरे पनि मातृभाषा विकासमा महत्वपूर्ण योगदान हुने बताए । 

त्यस्तै मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह मातृभाषाबाट पत्रकारिता गर्नु फलामको चिउरा चपाउनु सरह भएको भन्दैे यस क्षेत्रमा कार्यरत भाषाप्रेमीहरुको संकल्पले मात्रै अहिलेसम्म मातृभाषाको पत्रकारिता बाँचिरहेको बिचार राखे ।  उनले भने, ‘प्रेस काउन्सिल, सरोकारवाला संस्थाहरुको सहकार्य भएमा राज्यस्तरबाट आवश्यक सहयोग लिन सकिन्छ ।’

कार्यक्रममा सार्क पत्रकार समाजका अध्यक्ष राजु लामाले प्रेस काउन्सिल, नेपाल आदिवासी पत्रकार महासंघ र समाजको सहकार्यमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलन गर्न प्रस्ताव राखेका थिए । 

कार्यक्रममा बोल्दै बिचार गोष्ठीका संयोजक तेजनारायण महर्जनले पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले मातृभाषाको पत्रकारिता सुरु गरेको सयवर्ष पुग्न लाग्दा पनि मातृभाषा पत्रकारिताको विकास हुन नसकेको बताउँदै यसको लागि सरोकारवाला संस्था, प्रेस काउन्सिलले खेल्न पर्ने भूमिका बारे छलफल गर्न कार्यक्रमको आयोजना गरेको बताए । 

काउन्सिलका सदस्य शरद अधिकारीले कार्यक्रममा स्वागत गर्दै विविध भाषाभाषीको पत्रकारिता विकासको लागि काउन्सिलले गर्दै आइरहेको कार्यबारे जानकारि गराएको थियो भने नेवाः पत्रकार राष्ट्रिय दबूया महासचिव केके मानन्धरले धर्मादित्य धर्माचार्यलाई पहिलो मातृभाषी पत्रकारको मान्यता दिलाउन र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको रुपमा मान्यता दिलाउन दबूले गर्दै कार्य र मातृभाषी पत्रकार र पत्रकारिताको विकासका लागि गर्दै आइरहेको गतिविधी बारे जानकारी गराएका  थिए ।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपन्द्रलाल श्रेष्ठले धर्मादित्य धर्माचार्यलाई राज्यस्तरबाट मान्यता दिलाउन हुलाक टिकट प्रकाशन गर्न, उनको शालिक राख्न, उनको नाममा मातृभाषी सञ्चार प्रतिष्ठान खोल्न काउन्सिलले पहल गरिदिन ध्यानकार्षण पत्र काउन्सिलका अध्यक्ष बस्नेतलाई हस्तान्तरण गरेका थिए ।  सो ध्यानाकर्षण पत्र दबूमा निवर्तमान अध्यक्ष सुरजबीर बज्राचार्य ले वाचन गरी सुनाएका थिए ।

दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम दबूका सहसचिव सुनिता महर्जनले संचालन गरेका थिए ।

Categorized in उपत्यका