धमाधम उद्यान निर्माण गर्दै कामपा
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १०, शनिबार
काठमाडौँ महानगरपालिकाको वडा ३ मा पर्यावरण उद्यान (पार्क)को शिलान्यास भएको छ । विसं २०५५ मा गुरुयोजना बनाएर उद्यान निर्माण गर्ने लक्ष्य भए पनि हालसम्म कार्यन्वयन हुनसकेको थिएन । बहुवार्षिक योजनामा राखेर चालू आर्थिक वर्षका लागि महानगरले रु एक करोड ५० लाख छुट्याएपछि काम अघि बढेको हो । कामपा प्रमुख विद्यासुन्दर शाक्यले आज सो उद्यानको शिलान्यास गर्दै बजेट नपुगेर योजना अलपत्र हुने अवस्था अन्त्य भएको बताउनुभयो । उहाँले बजेटअनुसारको योजना बनाउने होइन, योजनाअनुसारको बजेट विनियोजन गर्ने महानगरको नीति हो । अब पैसा नभएर कुनै पनि योजना अधकल्चो हुँदैन भन्नुभयो । उपप्रमुख हरिप्रभा खड्गीले स्थानीय सरकार गठन भएपछिको पहिलो संयन्त्र भएकाले थिति बसाउनमै समय लागेको जनाउनुभयो । उहाँले १८ वर्ष जनप्रतिनिधि नभएको ठाउँ सम्हाल्न त्यत्तिकै पनि सजिलो नभएकोले चर्चा गर्नुभयो । उद्यान निर्माण हुने ठाउँ काठमाडौँ महानगरपालिकाको वडा नं ३, बूढानीलकण्ठ नगरपालिका वडा नं ७ र टोखा नगरपालिकाको वडा नं ४ को सिमानामा छ । यहाँ उद्यान बनाउने करिब रु दुई करोड ५० लाखको लागत अनुमान गरिएको वडा नं ३ का वडाध्यक्ष दीपक केसीले भन्नुभयो । उहाँका अनुसार पहिलो चरणमा उत्तरतर्फबाट सामाखुसी खोला सिमानाबाट दक्षिणतर्फ आधा काम सम्पन्न गर्ने लक्ष्य छ । बाँकी दोस्रो चरणमा काम गरिनेछ । कामपा शहरी योजना आयोगले तयार पारेको डिजाइनमा वातावरण संरक्षण र पर्यावरणलाई विशेष ध्यान दिइएको छ । “भिरालो जमिनमा पार्क निर्माण गर्ने कुरा आफैँमा चुनौतीपूर्ण छ”, डिजाइन टिमका इञ्जीनियर नीलिमा थापा श्रेष्ठले भन्नुभयो, “पहिलोपटक म त्यहाँ पुग्दा चराहरुको चिरकिर आवाज, रुखकिरुवा र भिरालो जमिनको अवस्थिति देखेपछि मन आनन्दित भएको थियो । त्यसैले हामीले डिजाइन पनि त्यसैलाई ध्यानमा राखेर तयार पारेका छौँ र पार्कको नाम नै इकोपार्क राखेका हौँ ।” उद्यानमा किरियापुत्री भवन पनि बन्नेछ । जीवनमा सबैभन्दा ठूलो पीडा परेका बेला शान्त बस्नुपर्ने भएकाले पार्क र किरियापुत्री भवनलाई अन्तरसम्बन्धित बनाइएको कामपाको भनाइ छ ।


