Swonti ADV Yen Mahanagarpalika Header
janswastha 11 11 78

देशभर शान्तिपूर्ण रुपमा ६१ प्रतिशत मतदान : निर्वाचन आयोग

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ५, सोमबार

काठमाडौं - निर्वाचन आयोगले देशभर शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको जनाएको छ । आयोगले आईतवार राति पत्रकार सम्मेलन गरी देशभर शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको परिणाम आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको बताए । उनले अहिलेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार करिव ६१ प्रतिशत मतदान भएको बताउनु भयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले यो संख्या सम्पूर्ण विवरण प्राप्त भएपछि केही प्रतिशत वृद्धि हुने बताए ।

उनले केही जिल्लाका मतदान केन्द्रमा विभिन्न कारणवश केही समय मतदान कार्य रोकिएको र राजनीतिक दल तथा उम्मेदवार र निर्वाचन प्रतिनिधिहरुसँग छलफल गरी पुनः सुचारु गरिएको पनि जानकारी दिए ।

उनले भने, ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आज केही सामान्य घटना बाहेक देशभर शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गराउने यस ऐतिहासिक कार्यमा भुमिका निर्वाह गर्ने, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचन अधिकृतहरु, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदाय, सञ्चारमाध्यम निजी क्षेत्र लगायत सबै क्षेत्र र समुदायप्रति निर्वाचन आयोग हार्दिक आभार प्रकट गर्दछ । मतदानको परिणाम आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ ।’

उनले थपे, ‘अहिलेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार करिव ६१ प्रतिशत मतदान भएको देखिएको छ । यो संख्या सम्पूर्ण विवरण प्राप्त भएपछि केही प्रतिशत बृद्धि हुनसक्छ । यो निर्वाचन आयोगले गरेको अपेक्षा भन्दा कमी हो । केही जिल्लाका मतदान केन्द्रमा विभिन्न कारणवश केही समय मतदान कार्य रोकिएको थियो । राजनीतिक दल तथा उम्मेदवार र निर्वाचन प्रतिनिधिहरुसँग छलफल गरी पुनः सुचारु गरिएको थियो ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानलाई शान्तिपूर्ण बनाउने प्रयासका बाबजुद पनि सुर्खेत, नवलपारसी, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा मतदान स्थगन हुन हुन पुगेको बताए । उनले स्थगन भएका स्थानमा तथ्यगत विवरणको आधारमा जनताको अभिमतलाई कदर गर्नको निम्ति मतदान पुनः गर्न निर्देशन दिएको बताए । आयोगले स्थगन वा रद्ध भएका मतदान केन्द्रमा आवश्यक तयारी गरी दुई दिन भित्रमा पुनः मतदान गराउने निर्णय गरिसक्न उपयुक्त व्यवस्था मिलाउनको निम्ति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘मतदानलाई शान्तिपूर्ण बनाउने प्रयासका बाबजुद पनि सुर्खेत, नवलपारसी, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा मतदान स्थगन हुन पुगेको छ । आयोगले सबै मतदान अधिकृतहरुलाई आयोगले जुन ठाउँमा स्थगन भएको छ, त्यहाँको तथ्यगत विवरणको आधारमा जनताको अभिमतलाई कदर गर्नको निम्ति मतदान पुनः गर्नुपर्ने बाध्यता महशुस भयो । त्यसकारण स्थगन वा रद्ध भएका मतदान केन्द्रमा आवश्यक तयारी गरी दुई दिन भित्रमा पुनः मतदान गराउने निर्णय गरिसक्न उपयुक्त व्यवस्था मिलाउनको निम्ति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले निर्देशन दिइसकेको छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानका क्रममा बाजुरामा झडप हुँदा एक जना सर्व साधारण नागरिकको मृत्यु भएको बताए । उनले अन्य केही स्थानमा भएको झडपमा केही नागरिकहरु घाइते भएको बताए । उनले भने, ‘मतदानका क्रममा बाजुरामा झडप हुँदा एक जना सर्व साधारण नागरिकको मृत्यु भएको छ । त्यस्तै अन्य केही स्थानमा केही नागरिकहरु घाइते हुनुभएको छ ।’ प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा भएका घाइतेको उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षणसमेत गराए ।

Categorized in राष्ट्रिय
STC 810x100 adv