STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

देशभरि कोरोना खोप अभाव

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २८, शुक्रबार

काठमाडौँ - देशका विभिन्न ठाउँमा कोरोनाविरुद्धको खोप अभाव भएको छ । यसले गर्दा दोस्रो चरणको खोप अभियान नै प्रभावित हुन थालेको छ ।

सरकारले गएको २३ गते देखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिन थालेको छ । अहिलेसम्म ९ लाखभन्दा धेरै ज्येष्ठ नागरिकले खोप लगाएका छन् ।

यो अभियानमा सरकारले ६५ वर्षमाथिका झण्डै १७ लाख ज्येष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखेको थियो । तर, अपेक्षा गरिएअनुसार थप खोप नआउँदा केही ठाउँमा खोप अभाव हुन थालेको छ । अहिले भएको खोपको मात्राले खोप दिने भनिएको झण्डै १७ लाख ज्येष्ठ नागरिकमध्ये केहीलाई नपुग्ने अवस्था देखिएको छ ।

अहिले गण्डकी प्रदेश, प्रदेश नम्बर १ र २ नम्बर प्रदेशका केही पालिकामा खोपको अभाव भएको गुनासो आएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले बताए । उनले अभाव देखिएको ठाउँमा समन्वय गरेर भएका खोप पुर्याउने तयारी थालेको पनि जानकारी दिए । कतिपय ठाउँमा अनुमान गरिएभन्दा खोप लगाउनेहरु धेरै भएकाले पनि अभाव देखिएको उनको भनाइ छ । खोप अभियानमा ज्येष्ठ नागरिकको उपस्थिति उत्साहजनक पाइएको छ ।

नेपालमा अहिलेसम्म साढे १३ लाख जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । तर, खरिद गरेकै खोप पनि कहिले आउँछ भन्ने अन्योल रहेकाले लक्ष्यअनुसार ज्येष्ठ नागरिकलाई पनि खोप दिन चुनौती देखिएको छ । सरकारले खोप भएसम्म वितरण गर्ने जनाएको छ । तर, खोप आउन ढिलाइ भए खोप अभियान केही समयका लागि रोकिने छ । केही समय खोप अभियान रोकिए पनि आत्तिहाल्नु नपर्ने खोपसम्बन्धी विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले बताए ।

सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाबाट नै थप ५० लाख डोज खोप खरिदको प्रक्रिया थालेको बताए पनि यसमा पनि अन्योल देखिएको छ । नेपालले सबैभन्दा पहिले भारतबाट १० लाख डोज खोप अनुदानमा पाएको थियो । त्यसपछि भारतकै खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित २० लाख डोज खोप सरकारले खरिद गरेको थियो । तर, खरिद गरेको २० लाख डोजमध्ये नेपालमा जम्मा १० लाख डोज खोप मात्रै आएको छ । बाँकी खोप आउन बाँकी छ । बाँकी खोप कहिलेसम्म आइपुग्छ भन्ने अझै टुङ्गो लागिसकेको छैन । सरकारले जतिसक्दो यी खोप ल्याउन खोप उत्पादक कम्पनीसँग छलफल गरिरहेको बताएको छ ।

यस्तै, कोभ्याक्स सुविधामार्फत नेपालले ३ लाख ४८ हजार डोज खोप पाएको थियो । सरकारले पहिलो चरणको खोप अभियानमा ४ लाख २९ हजारलाई खोप दिएको थियो ।

Categorized in स्वास्थ्य-मौसम