STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दुई फरक कोरोना भ्याक्सिन प्रयोग गर्नु खतरनाक : डब्लूएचओ

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २९, मंगलबार

विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले दुई फरक कम्पनीका कोरोना भ्याक्सिन पहिलो र दोस्रो डोजका रूपमा प्रयोग गर्नु खतरनाक हुने चेतावनी दिएका छन् ।

डब्लूएचओकी मुख्य वैज्ञानिक डा. सौम्या स्वामीनाथनले यसलाई एउटा घातक ट्रेन्ड भनेकी छन् । यसरी अलग–अलग खोप लिँदा त्यसको परिणाम के हुन्छ, अहिलेसम्म डब्लूएचओले कुनै विवरण बाहिर ल्याएको छैन ।

एक अनलाइन ब्रिफिङमा स्वामीनाथनले भनिन्, ‘धेरै मानिसले हामीलाई सोधिरहनुभएको छ– पहिला अर्कै कम्पनीको भ्याक्सिन लिएको र अब अर्कै कम्पनीको लिने योजना छ, यसो गर्न हुन्छ कि हुँदैन ? तर म भन्छु, यो खतरनाक ट्रेन्ड हो ।

यद्यपि, भ्याक्सिनको म्याचिङ र मिक्सिङलाई लिएर हामीसँग कुनै विवरण छैन ।’ फाइजर, एस्ट्रेजेनेका, स्पूतनिक, यी सबै भ्याक्सिनको दुई डोज दिने गरिएको छ । सबै कम्पनीहरूको भ्याक्सिन लगाउने समय अन्तराल अलग–अलग छ ।

स्पूतनिक वी लाइट र जोनसन एण्ड जोनसनको भ्याक्सिनको एक डोज मात्र दिइँदै छ । स्वामीनाथनले भनिन्, ‘मिक्स र म्याचलाई लिएर हामीसित सीमित डेटा छन् । यसमा अहिले अध्ययन भइरहेको छ ।

अहिले हामीसँग एस्ट्रेजेनेका भ्याक्सिनलाई लिएर मात्र केही विवरण छन् । अलग–अलग देशका मानिसहरू आफैं कुन भ्याक्सिन, कहिले, कतिपटक लिने भन्ने कुरा तय गर्न थाले भने अराजक स्थिति उत्पन्न हुन सक्छ ।’

Categorized in स्वास्थ्य-मौसम